पोखरा उच्च अदालतले कलाकार पल शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बलात्कार मुद्दामै आरोपित सन्दीप लामिछानेलाई सोमबार सर्वोच्च अदालतले खेल खेल्न विदेश जान सक्ने सुविधा प्रदान गर्यो।
यी दुवै घटनामा चर्चित पात्र आरोपित छन् भने आरोप लगाउने उनकै ‘फ्यान’ युवती हुन्। दुवैलाई जबर्जस्ती करणीको आरोप थियो। आरोप लागेपछि प्रहरीले दुवैलाई अनुसन्धानका लागि थुनामा राख्यो। अनुसन्धानपछि अभियोजन गर्यो। यी दुईमध्ये पल शाहको मुद्दा एक तहको अदालतले टुंग्याएको छ भने सन्दीप लामिछानेको मुद्दा टुंगिन बाँकी छ।
दुवै मुद्दालाई लिएर समाज विभाजित भएकाले यसबारे विभिन्न कोणबाट बहस र छलफल गरिनु आवश्यक छ।
सबभन्दा पहिला आफूले मन पराएको व्यक्तिले गल्ती गर्दै गर्दैन भन्ने भाष्य निर्माण गरेर देवत्वकरण गर्ने प्रवृत्तिको कुरा गरौं।
अंग्रेजीमा ‘सेलेब्रेटी वर्सिप’ भन्ने शब्द धेरै प्रयोग भएको पाइन्छ। अनुसन्धाताहरूले सेलेब्रेटी पूजालाई असामान्य प्रकारको परसामाजिक सम्बन्ध भनेका छन्। यसमा सामान्य प्रशंसादेखि मनोवैज्ञानिक रूपले हदैसम्म प्रभावित हुने घटना पर्छन्। यही सेलेब्रेटी वर्सिप अर्थात् उपासकको हतियारले पल शाहलाई सफाइ दिनुका साथै सन्दीप लामिछानेलाई सुविधा दियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सम्झौं। हाम्रो समाजमा व्याप्त निराशाबीच उदाएका यी पात्र सेलेब्रेटी उपासनाका उपज हुन्। केही समययता हाम्रो समाजमा कसैले कसैलाई प्रश्न गर्ने, उत्तर माग्ने, शंका जनाउने, आफ्नो धारणा दिने वा अनुमान लगाउने प्रवृत्ति लुकेको थियो। यी दुई पात्रले समाजमा प्रश्नको खेल खेले र उत्तर मागे। प्राप्त उत्तरलाई समाजले आफूअनुकूल ग्रहण गर्यो। यसको मुख्य कारण समाजले प्रश्न नभएको ठाउँमा प्रश्न र उत्तर नभएको ठाउँमा उत्तर प्राप्त गर्यो। फलस्वरूप दुवै पात्र विजयी भए।
हाम्रो समाजमा व्याप्त सेलेब्रेटी पूजामा मुख्य तीन महत्वपूर्ण विषयले काम गरेको पाइन्छ- सेलेब्रेटी मोहको आकर्षण, सेलेब्रेटीसँग जोडिएको प्रसिद्धिको चाहना र आत्मप्रभाव।
यी तीनै पक्ष आलोचनात्मक चेतबाट पर हुन्छन्। त्यसैले कहिलेकाहीँ आफूले मन पराएको सेलेब्रेटीबारे कसैले नकारात्मक कुरा गरे डटेर प्रतिवाद गर्छन्। उस्तै परे जाईलाग्छन्। पल शाह, सन्दीप लामिछाने, बालेन शाह र रवि लामिछानेका सवालमा विगतदेखि अहिलेसम्म सडकमा देखिएका दृश्य यही सेलेब्रेटी मोहका परिणाम हुन्।
हाम्रो समाजमा सेलेब्रेटी उपासकहरूका कारण जनप्रशासन, समाज, राजनीतिक दल/नेतृत्व र न्यायालय प्रभावित बन्दै आएको छ। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले बलात्कार अभियुक्त सन्दीप लामिछानेसँग हात मिलाउनु सेलेब्रेटी मोहको एउटा उदाहरण हो। सर्वोच्च अदालतले सन्दीपलाई दिएको सुविधामा पनि न्यायालयको सेलेब्रेटी मोह प्रतिविम्बित भएको छ।
यी दृश्यले तत्कालका लागि सेलेब्रेटी उपासकहरूमा हौसला थपे पनि ती सेलेब्रेटीलाई दीर्घकालमा कानुनको खिलाफ जाने र अपराध कर्मतिर अग्रसर गराउन मद्दत गरिरहेको छ। सेलेब्रेटीहरूले भविष्यमा पनि आफ्ना पुजकहरूको समूहलाई अनुकूलता र प्रतिकूलतामा यसैगरी प्रयोग गरिरहने छन्।
सेलेब्रेटी उपासक र समाज
हाम्रो समाजले विगतदेखि वर्तमानसम्म शक्ति पुजकको पहिचान बनाउँदै आएको छ। गौतम बुद्धलाई भन्दा पहिले शक्ति स्वरूपालाई पूजा गर्यो। शक्ति अर्थात् धन, प्रभुत्व, पहुँच र आस्था। जो जसको नजिक भयो, त्यही शक्तिको वरिपरि व्यक्ति र समाज घुम्न थाले। आफ्नो काम र अभीष्ट पूरा गर्ने सशक्त अस्त्रका रूपमा त्यही शक्ति प्रयोग गर्न थाले। कतिपयले भने आफैंलाई त्यसमा राख्दै र दाँज्दै प्रतिविम्बित हुन थाले।
समाजमा यस्तै ‘शक्तिस्वरूपा’ प्रवृत्तिका पुजकहरूको बोलबाला छ। शक्तिका कुनै न कुनै रूप यी प्रवृत्तिमा निहीत हुन्छ। शक्ति र पहुँचका रूपमा ‘वैदेशिक रोजगार’, ‘वैदेशिक अध्ययन’, ‘गाउँमा ठूलो घर’, ‘राम्रो जागिर’, ‘घुम्ने’, ‘रमाइलो गर्ने’ र ‘धेरै खर्च’ भन्ने शब्दमा समाज रम्न थाल्यो। यसले समाजलाई सपनाको दुनियाँ, काँच र पर्दाको संसारमा धकेलिरहेको छ। यो जति ठूलो आकारमा धकेलिन्छ, त्यही आकारमा उद्यमशीलता र मौलिकता हराँउदै जान्छ।
यस्तो अवस्थामा समाज आफैंले पूजा गरेको व्यक्तिलाई कसैले निन्दा वा आलोचना गरे सहन सक्दैन। आलोचनात्मक चेत हराइसकेको समाजले यिनीहरूलाई न त प्रश्न गर्यो न शंका। यस्तो अवस्थामा सेलेब्रेटी उपासकहरूले आफूले मन पराएको व्यक्तिले गरेको अपराधसमेत स्विकार्दैनन्। सेलेब्रेटी उपासकहरूमा ‘मैले मन पराएको व्यक्तिले गलत गर्दै गर्दैनन्’ भन्ने मनोविज्ञान व्याप्त हुन्छ।
यसले हामीलाई क्रमशः ‘मास एड्मिनिस्ट्रेसन’ (भीडको प्रशासन) तर्फ धकेलिरहेको छ। अहिले माथि विवेचना गरिएको कुनै एक पात्रविरूद्ध तपाईं बोल्नुभयो भने त्यो भीड तपाईंमाथि जाईलाग्ने छ। सेलेब्रेटी उपासकहरूमा वर्चश्व बढ्दै जाँदा उत्पन्न ‘मास एड्मिनिस्ट्रेसन’ ले आफैं कानुन बनाउँदै छ। यति मात्र होइन, न्यायालयका सम्पूर्ण संयन्त्रलाई पनि प्रभावित र कमजोर तुल्याउँदै छ।
सेलेब्रेटी उपासक र मिडिया
सञ्चार क्षेत्र समाजकै अभिन्न अंग हो। यो समाजको ऐना पनि हो। समाजलाई बाटो देखाउन विभिन्न समयमा, विभिन्न किसिमले यसको प्रयोग भइरहेकै हुन्छ। तर पछिल्लो समय आफ्नो ऐनाको धुलो पुछ्न छाडेर अर्काको अनुहारको धुलो पुछ्न खोज्दा आलोचित बनेको छ।
सेलेब्रेटी उपासकहरूसँग मिडियाको सबभन्दा नजिकको सम्बन्ध रहन्छ। मिडिया सधैं दुई चिजको भोको हुन्छ। एउटा विज्ञापन र अर्को दर्शक (टिआरपी)। सेलेब्रेटी उपासकहरू मिडियाका लागि सधैं विज्ञापनवाहक र स्थायी दर्शक हुन्। कुनै सञ्चारमाध्यममा कुनै चर्चित सेलेब्रेटीको विषयवस्तु वा सामग्री प्रकाशन र प्रसारण भए सेलेब्रेटी उपासकहरूले बिनापैसा प्रचारप्रसार र विज्ञापन गरिदिने हुनाले मिडियाहरू सेलेब्रेटी उपासकलाई मान्छन्, सम्मान दिन्छन्।
यस्तो अवस्थामा हाम्रो मिडिया सेलेब्रेटीले गरेको कुनै कमजोरीको समाचार प्रकाशन वा प्रसारण गर्न असमर्थ हुन्छन्। किनभने, कुनै समय बिनालगानी ठूलो प्रचारका लागि तिनै सेलेब्रेटी उपासकहरूलाई मिडियाले प्रयोग गरिसकेको हुन्छ।
यो अर्थोपार्जनको महत्वपूर्ण पक्ष पनि हो। सेलेब्रेटी उपासकहरूविरूद्ध जाँदा आफ्नो आम्दानी गुम्ने डरले मिडियाहरू सामान्यतया सेलेब्रेटी र सेलेब्रेटी उपासकहरूको विपक्षमा जाँदैनन्। यसले मिडियाले गलत नै भए पनि आलोचना र विरोध गर्न सक्दैनन्।
सेलेब्रेटी उपासक र जनप्रशासन
सेलेब्रेटी उपासकहरूको प्रवृत्ति र चरित्रले नियम-कानुन मान्दैन। यिनीहरूको पहिलो गुण भनेकै आफूअनुकूल नियम बनाउनु र आफूले मन पराएको सेलेब्रेटीको भजन गानमा हद पार गर्नु हो। यी सबै अवस्थामा जनप्रशासन तोडिन्छ।
जनप्रशासनले हामीलाई कानुनी अधिकार, रक्षा र दण्ड सजाय दिन्छ। सेलेब्रेटी पुजकहरू यी सबै दायराबाट पर रहन खोज्छन्। जनप्रशासन अख्तियार गर्ने अधिकारीहरू यही समाजका सदस्य भएकाले ती सेलेब्रेटी उपासकसँग सम्बन्ध स्थापित भएकै हुन्छ। ती प्रशासकलाई सेलेब्रेटी उपासकहरूको बल र भयको भ्रम परेको हुन्छ। त्यसैले सही समयमा सही निर्णय लिन सक्दैनन्।
उनीहरू सेलेब्रेटीलाई कानुनी दायरामा ल्याइयो भने सेलेब्रेटी उपासकहरूले दिने दबाब व्यवस्थापन गर्न सक्दैनौं भन्ने निचोडमा पुगेका हुन्छन्। यसले प्रशासनलाई फितलो बनाउँछ। यस्तो अवस्थामा प्रशासनले शंका र प्रश्न गर्न छाडिदिन्छ। जनप्रशासन कठोर रूपमा उपस्थित भइदिए मात्र समाजमा अनुशासन कायम राख्न र दण्डहिनता रोक्न सहयोग पुग्छ। यसबाट एउटा अपराध कर्म लुक्छ भने धेरै अपराधका लागि बीउ रोपिन्छ। यो बीउ हरेक अनुकूलतामा अंकुरण भइरहन्छ। सेलेब्रेटी उपासकबाट जनप्रशासनमा पर्ने असरले समाज विज्ञानमा उल्टो विकास गराइरहेको छ। यो हाम्रो अहिलेको समाजको वास्तविकता हो।
सन्दीप लामिछानेका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयलाई कानुनका जानकारहरूले ‘मागेभन्दा बढी सुविधा’ दिएको प्रतिक्रिया दिएका छन्। यो निर्णयको अन्तर्य सन्दीपको खेलाडी छवि, उसका उपासक/पुजकहरूको दबाब र कमजोर जनप्रशासनसँग जोडिन्छ।
सेलेब्रेटी दम्भ
‘म सेलेब्रेटी हुँ। मैले जे गरे पनि हुन्छ। मैले केही गल्ती गरेँ भने पनि मलाई मेरा उपासक/पुजकहरूले बचाउँछन्’ भन्ने दम्भ यी पात्रहरूसँग रहेका छन्। यसको सोझो अर्थ र सन्देश भनेको सेलेब्रेटी पूजा गर्ने संस्कृति खतरनाक बन्दै गएको छ भन्ने हो।
यो संस्कृतिले वास्तविक मानिसहरूलाई वस्तुका रूपमा र वास्तविक मुद्दाहरूबाट विचलित गर्न सघाइरहेको हुन्छ। बढ्दो सामाजिक सञ्जालको प्रयोगले यसलाई अझै मलजल गरेको छ।
सेलेब्रेटी संस्कृतिको मोहका कारण हामीले अवचेतन रूपमा खतरनाक र विषाक्त सन्देशहरूलाई समाजमा जबरजस्त खपत गराइरहेका हुन्छौं। तिनै सन्देश आगामी पुस्ताका लागि अझै बढी खतरनाक बन्ने छन्। सेलेब्रेटी संस्कृतिको मोहभन्दा बाहिरको ठूलो जमातमा यसले डिप्रेसन, चिन्ता र आत्मसम्मानमा कमी ल्याएको छ।
सेलेब्रेटीहरूले भिन्न क्रियाकलाप वा शैलीबाट आफ्ना उपासकहरूको ध्यान केन्द्रिकृत मात्र गर्दैनन्, उनीहरूले आफ्नो फाइदाका लागि तिनै उपासकहरूको शोषण पनि गर्छन्। फ्यानहरूले संगठित शक्ति प्रदर्शन गर्छन्, तर यो सेलेब्रेटीहरूको पदोन्नतिसँगै हुन्छ र सेलेब्रेटी पूजासँग जोडिएको हुन्छ।
सेलेब्रेटी उपासकहरूका कारण उनीहरूको गल्ती नजरअन्दाज गर्ने प्रवृत्ति नेपालमा मात्रै छ भन्दा अतिसयोक्ति नहोला। सेलेब्रेटी उपासकहरूको ‘बेनिफिट अफ डाउट’ ती प्रवृत्तिले पाइरहेका छन्, जसले तिनै उपासकलाई आफूअनुकूल मूर्ख, लहडी, अव्यावहारिक, अपरिपक्व र असान्दर्भिक परिवेशको वकालत गर्न प्रेरित गरिरहन्छन्। अवाञ्छित मनोवृत्ति र व्यवहारलाई प्रश्रय दिइरहन्छन्। फलतः यसले समाजलाई विभाजनतर्फ डोर्याउन मद्दत गर्छ।
अहिले देखिएको पनि यही हो। सेलेब्रेटी उपासकहरू चेतनाशून्य रूपमा प्रवृत्तिको प्रतिरक्षामा ओर्लिएका छन् भने अर्को पक्ष विरोधमा। अर्थात्, न्याय निरूपण र न्याय सम्पादनमा सेलेब्रेटी छवि र सेलेब्रेटी उपासकको दबाब सिर्जना गरिनुहुन्न भन्ने उनीहरूको तर्क छ।