२०८० असोज, ७
||NEWS LUMBINI |

सोमनाथ र गङ्गाको सफलताको कथा

वैदेशिक रोजगारीको लागि कतार गएका सोमनाथ तीन वर्ष बसेर फर्किए । उनले त्यहाँ स्टील फ्याक्ट्रिमा काम गर्थे । निक्कै दुख थियो तरपनि परिवारको भविष्यको लागि लागि विदेश गएको भएर उनले त्यसलाई झेले । कहिलेकाँही त सबैथोक छोडेर घरनै फर्किँयौ जस्तो लाग्थ्यो तर घर फर्किएर पनि के गर्ने भन्ने थाहा नपाएर फर्किने आँट गरेनन् ।

एक दिन उनी बिरामी परे । काममा जान सकेनन् । बिरामी भएको बेला उपचार गरिदिन्छु भनेको कम्पनीले पनि उपचार गराएन । कम्मर दुख्ने समस्या थियो उनको । त्यो फेरी बल्झियो । उनी कामनै गर्न नसक्ने गरी थला परे । धन्न नेपाली साथीभाइहरूले उपचार खर्च जोडिदिए र नेपाल फर्किने व्यवस्था मिलाइदिए ।

नेपाल फर्किएर उनलाई के गर्ने थाहा थिएन । कुनै योजना पनि थिएन । हातमा पैसा नभएकाले घरमा के गरी मुख देखाउने तथा गाँउमा मानिसहरूले के भन्लान् भन्ने डर पनि उनको मनमा थियो । श्रीमतीको लागि गहना र एउटा राम्रो मोबाइल पनि किन्न नपाएर उनको मन खिन्न भएको थियो । तर घर पुग्दा घरको अवस्था देखेर उनी छक्क परे । उनकी श्रीमती गङ्गाले त उनले दुख गरि कमाएर पठाएको थोरै पैसा जम्मा गरेर र गाँउको महिला सहकारीबाट ऋण लिएर सानो बाख्रापालन व्यवसाय सुरु गरिसकेकी रहिछन् । घरमा दुईवटा बाख्रा,पाँचवटा खसी र सानासाना पाठापाठीहरू पनि रहेछन् ।

उनी खुसी भए । विदेशमा परेको दुख फोन गरेर सुनाउँदा गङ्गाले ‘तपाईँ यहीँ आउनु । मिलेर केही गरौला चिन्ता नगर्नु’ भनेको कुरा उनले संझिँए । आफूले दुख गरेर पठाएको पैसाको सदुपयोग गरेर श्रीमतीले पैसा कमाउने बाटो खोजेकोमा उनलाई ज्यादै खुशी लाग्यो ।

अहिले उनीहरू दुबैजना मिलेर बाख्रा पालन गर्छन् । उनलाई अहिले पनि बेलाबेला कम्मर जँचाउन गइराख्नुपर्छ तर त्यसको खर्च उनीहरू दुबैजना मिलेर निकाल्छन् । उनी घाँस काट्न सक्छन् तर बोक्न सक्दैनन् । बोक्न जिम्मा गङ्गाले लिएकी छन् । उनका बुवाले पनि बाख्राहरूलाई काटेको घाँस हालिदिन सक्नुहुन्छ । आमा भान्साको काम गरिदिनुहुन्छ । भर्खरै उनले मासु काटेर बेच्ने सानो पसल पनि खोलेका छन् । त्यसलाई बिस्तारै बढाउँदै जाने उनको योजना छ । उनीहरूको सफलताको कथा गाँउलेहरूले उदाहरण बनाएर कुरा गरिरहन्छन् ।

कथाले सिकाएको कुरा

कमाएको पैसाले कुनै व्यवसाय गर्न नथाल्ने हो भने भविष्यमा पैसाको खाँचो पर्दा गाह्रो हुन सक्छ । यदि गङ्गाले त्यो व्यवसाय सुरु नगरेर जथाभावी खर्च गरेको भए सोमनाथको उपचार गर्न सम्म पनि गाह्रो हुन्थ्यो । वा भएको अलि अलि पैसा पनि उपचारमै सबै सकिन सक्थ्यो । बाख्रापालनले गर्दा ढिलो ढिलो भए पनि अहिले पैसा कमाइ भइरहेको छ र त्यो बिस्तारै बदलिएको छ। अनि अर्को कुरा परिवारको सदस्यले पनि श्रीमान् वा श्रीमती विदेशमा दुख गर्न गएको हो भन्ने कुरा बुझेर एकआपसलाई साथ दिनुपर्छ । एकजनाले कमाउने र बाँकीले खर्च मात्र गर्ने हो भने पैसाले कहिल्यै पनि पुग्दैन । तपाँई पनि विदेशमा हुनुहुन्छ भने कमाएको पैसा केवल खर्चमा मात्र नजाओस् भनेर सोमनाथ र गङ्गा जस्तै कुनै योजना बनाउनुहोस् । परिवारका सबै मिलेर काम गर्‍यो भने सानोतिनो नै भए पनि व्यवसायनै गर्यो भने नेपालमै बसेर पनि राम्रै कमाइ गर्न सकिन्छ ।

नेपाल फर्किएर के व्यवसाय कसरी गर्ने भन्ने बारेमा केही जान्न मन छ भने तलका लेखहरू पढ्न सक्नुहुन्छ:

विदेशबाट फर्किएर रेष्टुरेन्टको व्यवसाय कसरी गर्ने ?
विदेशबाट फर्किएर बेकरी क्याफे
चटपटे व्यवसायबाट पनि राम्रो हुन्छ कमाई, विदेशबाट फर्केर चटपटे व्यवसाय कसरी गर्ने ?
साइकल मर्मत पनि विदेशबाट फर्केर गर्न सकिने राम्रो व्यवसाय हुन सक्छ है
नोट: माथि भनिएको कथा पूर्णत काल्पनिक हो । कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन् ।

Facebook Comments Box

फेसबुक