२०८० असोज, १७
||NEWS LUMBINI |

‘स्त्री हिंडडुल गर्ने योनी मात्र होइन’

–स्वरा भाष्कर, बलिउड अभिनेत्री प्रिय सञ्जयलीला भन्साली ज्यू, सुरुमा त तपाईंलाई बधाइ छ किनभने तपाईंको फिल्म रिलिज भयो । हुन त यसका लागि फिल्मकी मुख्य अभिनेत्री दीपिका पादुकोणको आकर्षक कम्मरसँगै अन्य ७० वटा दृष्य गायब भएको छ तर ठूलो सफलता नै मान्नुपर्छ, एउटा सिर्जनशील काम गरे बापत तपाईंको टाउको गायब पारिएको छैन ! मासुको नाममा मानिसकै हत्या हुने आजको ‘सहिष्णु’ भारतमा तपाईंको फिल्म रिलिज हुनु नै ठूलो कुरा थियो, त्यसका लागि पनि तपाईं बधाइको पात्र हुनुहुन्छ । तपाईं बधाइको हकदार हुनुको अर्को कारण चाहिँ फिल्मका कलाकारहरूले गरेको गज्जबको अभिनय, फिल्मको अतिभव्यता र आश्चर्यचकित पारिदिने काम पनि हो । हरेक चिजमा आफ्नो छाप छोड्ने तपाईं जस्ता निर्देशकबाट यत्तिको फिल्मको आशा गर्नु स्वाभाविक पनि हो । हुन त सर, हामी एक–अर्कालाई टाढैबाट चिन्छौं । तपाईं मलाई चिन्नु हुन्छ कि हुन्न मलाई थाहा छैन तर मैले तपाईंको फिल्म ‘गुजारिश’ मा एउटा सानो भूमिका पाएकी थिएँ । खासमा दुई दृष्यको भूमिका मैले पाएकी थिएँ । मैले बोल्ने संवादका विषयलाई लिएर तपाईंले मसँग छोटो राय लिनु भएको सम्झना छ । तपाईंले मसँग लिनु भएको रायका विषयमा एक महिनासम्म मैले गर्व महसुस गरिरहें । म जस्तो जुनियर कलाकारसँग लिएको रायपछि मलाई लाग्यो, ‘वाह ! यो मानिस कति गतिलो ! म जस्तो सानो कलाकार र सानो दृष्यका लागि पनि मिहिनतामा मतलब राख्छ ।’ त्यसपछि त म तपाईंबाट प्रभावित नभइरहन सकिनँ । म तपाईंका फिल्महरू उत्साहपूर्वक प्रतीक्षा गर्ने दर्शकमध्येकी हुँ । जसरी तपाईंले आफ्ना हरेक फिल्मबाट आफैंले बनाएका मानकहरूलाई अझै माथि उठाउनु हुन्छ, जसरी तपाईंको समर्थ निर्देशनमा कलाकारहरू ‘जीवित’ गहिरो अभिनेतामा परिवर्तित हुन्छन्, यस कुराले मलाई आश्चर्यचकित पारिदिन्छ । यादगार प्रेमकथा कस्तो हुनुपर्छ भन्नेबारे मेरा विचार बनाउनेमा तपाईंको भूमिका पनि कम छैन । म सपना देख्थें, कुनै दिन तपाईंले कुनै फिल्मको मुख्य चरित्रका लागि मलाई निर्देशन गर्नु होला ! म तपाईंको प्रशंसक थिएँ र छु । ‘पद्मावती’ फिल्मका बारेमा जब विरोध शुरु भयो, मैले तपाईंको यस फिल्मका लागि लडाईं नै लडें । ट्वीटरको टाइमलाइनमा धुँवाधार लडाईं भयो । ट्रोलहरूसँग मेरो त झगडा नै प¥यो तर पनि मैले यो लडाईं तपाईंका लागि लडें । मैले टिभी क्यामेराका अगाडि त्यही कुरा भनेँ, जुन कुरा मलाई पनि लागिरहेको थियो कि तपाईं १८५ करोड रुपैयाँ फँसेका कारण भन्न सकिरहनु भएको थिएन । मैले त्यो बेला जे भनें, त्यस बेला पूरै सत्यताका साथ विश्वास गरें । मैले पूरै सत्यका साथ विश्वास गरें र आज पनि गर्छु– यस देशका हरेक दोस्रो व्यक्तिलाई त्यो कथा भन्ने हक छ, जुन ऊ भन्न चाहन्छ । जसरी भन्न चाहन्छ, उसले त्यसरी नै भन्न पाउनु पर्छ । उसले आफ्नी नायिकाको पेटलाई जतिसुकै उघारेर देखाउन सक्छ र यस्तो गर्दा उसको सेट जलाउने, मारपिट खाने, अङ्ग काटिने, ज्यानै जाने डरले ऊ लुक्दैन । साधारण शब्दमा भन्ने हो भने मानिसलाई फिल्म बनाउने, त्यो फिल्म रिलिज गर्ने क्षमता रहिरहनु पर्छ र यस्ता फिल्म बनाएका कारण उसका सन्तान सुरक्षित तरिकाले विद्यालय जाने अधिकार कुण्ठित हुनु हुँदैन । तपाईंले बुझ्नु जरुरी छ, तपाईंको फिल्मले साँच्चीकै जबरजस्त सफलता हासिल गरोस् भनेर म चाहन्थें । यसले बक्स अफिसमा सफलताका सारा कीर्तिमान भङ्ग गरिदिओस् । यस फिल्मको कमाइ तपाईंको विरोध गरिरहेका करणी सेना जस्ता आतंकवादी र तिनप्रति सहानुभूति राख्नेहरूको गालामा थप्पड हान्नु जत्तिकै हुन्थ्यो । त्यसैले उत्साहका साथ मैले पहिलो दिनको पहिलो सोको टिकट बुक गरें र परिवारका साथ मात्र होइन, मेरी भान्से समेतलाई लिएर फिल्म हेर्न गएँ । सायद फिल्ममा यति गहिरो गरी जोडिएका र सरोकारका कारण यो फिल्म हेरेपछि म ‘सन्न’ भएँ । त्यसैले पनि म यति स्वतन्त्र भएर यो लेख्ने दुस्साहस गरिरहेकी छु । तपाईंलाई भन्नुपर्ने अनेक कुरा भए पनि सिधा र संक्षेपमा भन्ने प्रयास गर्छु । सर, बलात्कृत भएपछि पनि कुनै स्त्री ज्यूँदो हुने अधिकार हुन्छ । पति र उनीहरूको यौनिकताको रक्षा गर्ने पुरुष रक्षक, स्वामी, नियन्त्रकको मृत्युपछि पनि कुनै स्त्रीले बाँच्ने अधिकार हुन्छ । पुरुष ज्यूँदो होऊन् या नहोऊन्, स्त्रीहरूलाई स्वतन्त्र रहेर जिउने अधिकार हुन्छ । मासिक धर्म र स्त्री जाति ज्यूँदो रहने अधिकार छ, हुन्छ । यो त आधारभूत कुरा हो र अर्को कुरा के पनि हो भनेः स्त्री कुनै हिंडडुल गर्ने, बोल्ने योनी होइन । अँ, स्त्रीहरू योनी भन्दा कहीं बढी नै हुन् । त्यसैले उनीहरुको पूरा जीवनलाई योनीलाई बाहिरै राखेर, उसलाई नियन्त्रित गर्ने, त्यसलाई रक्षा गर्ने र त्यसलाई रखरखाव गर्नेभन्दा पनि यसलाई अलग्गै हेर्नुपर्ने आवश्यकता छ । (१३ औँ शताब्दीमा त्यस्तो हुन्थ्यो होला तर २१ औँ शताब्दीमा यस्ता विचारलाई अनुशरण गर्नु कुनै आवश्यक छैन, झन् यस कुरालाई महिमामण्डन गर्न त हुँदै हुँदैन) । योनीहरूलाई सम्मान गरिएको भए राम्रो हुन्थ्यो तर दुर्भाग्यपूर्ण तरिकाले त्यस्तो भएन भने पनि कुनै स्त्रीले आफ्नो जीवन बाँच्न सक्छे । कुनै अर्को व्यक्तिले उसको इच्छाबेगर उसको योनिको अपमान गर्ने दुस्साहस ग¥यो भन्दैमा स्त्रीलाई सजायस्वरुप हत्या गर्नु आवश्यक छैन । योनिभन्दा बाहिर पनि जीवन छ । त्यसैले बलात्कारपछि पनि एउटा जीवन हुनसक्छ । (मलाई थाहा छ, मैले यो कुरा यहाँ दोहो¥याएँ तर यस कुरालाई जति बढी जोड दिए पनि कम नै हुन्छ ।) सामान्य शब्दमा भन्दा जीवनमा योनिका अतिरिक्त अन्य कुरा पनि निकै छन् । तपाईं दिक्क हुनुभयो होला आखिर म किन यही योनिमा अड्किरहेकी छु… किनभने सर तपाईंको भव्य फिल्म हेरिसकेपछि मलाई मलाई म आफूलाई योनिजस्तो केही भएको महसुस भयो । म आफूलाई स्त्री होइन, योनि हुँ कि, स्त्री जातिलाई मात्र एउटा योनिमा सीमित पारिएको हो किजस्तो महसुस भयो । फिल्म हेरिसकेपछि मलाई गएका केही वर्षमा स्त्री र स्त्री आन्दोलनले जुन ‘स–साना’ सफलता आर्जित गरेका थिए–– जस्तो मताधिकार, सम्पत्तिमाथिको स्वामित्वको अधिकार, शिक्षाको अधिकार, बराबरी कामको बराबरी ज्यालाको अधिकार, प्रसूति बिदा, बालबालिकालाई अपनाउने अधिकारजस्ता कैयौँ सफलता निरर्थक महसुस भयो । हामी फेरि घुम्दैफिर्दै आधारभूत प्रश्नमै पुग्यौँजस्तो लाग्यो । तपाईंको फिल्मले हामीलाई अन्धकार युगकै प्रश्नमै पु¥याइदियो– के कुनै स्त्री विधवा छे, बलात्कृत भई भने त्यो बूढी, गर्भवती, नाबालिग भए पनि उसको बाँच्ने अधिकार छ ? मलाई थाहा छ, सती जानु हाम्रो सामाजिक इतिहासको अंग हो । यो वास्तविकता हो । मलाई के लाग्छ भने तपाईंजस्तो गज्जबको फिल्मकारले पर्दामा उतार्नु भयो भने यसलाई सनसनीखेज, डरलाग्दो, नाटकीय, भड्किलो र सम्मोहक बनाउन सक्नुहुन्छ भन्ने मलाई थाहा छ । तर बनाउन सकिन्छ भन्नेबित्तिकै त्यसलाई यति कुरुप तरिकाले ‘नश्लीय’ कुरा नबुझी वा यसको गम्भीरता नसोची बनाउनु कति उचित हुन्छ ? यस्ता फिल्म बनाउँदा नश्लीय घृणाविरुद्ध टिप्पणी नगरी बनाउनु खतरनाक हुन्छ । जघन्य अपराधलाई कसरी महिमामण्डित गर्न सकिन्छ ? म छक्क पर्छु । सर, म पक्का छु, तपाईंलाई पनि सती र जौहर प्रथालाई महिमामण्डित पक्कै गर्नु हुन्न । प्रतिष्ठा, त्याग, शुद्धताजस्ता आदिम विचारका कारण स्त्री र पुरुष यस्ता परम्परा रुचाउँछन् तर सती र जौहर, स्त्री खतना र अनर किलिङजस्तै गहिरो गरी पितृसत्तात्मक, स्त्रीविरोधी र समस्याले भरिउको विचारमा डुबेको चिज हो । यो त यस्तो मानसिकता हो, जसले के मान्छ भने कुनै स्त्रीको मूल्य उसको योनिमा निहित हुन्छ, जुन स्त्री पुरुष मालिकको नियन्त्रणमा हुँदैन त्यस्ता स्त्रीको जीवन मूल्यहीन हुन्छ । सती, जौहर, स्त्री खतना अनर किलिङ आदि जस्ता प्रथालाई महिमा मण्डित गर्नु हुँदैन किनभने यसले स्त्री समानताको अधिकार खोस्ने मात्र होइन, उल्टै महिलाको व्यक्तित्व पनि खोस्छ । तिनले स्त्रीको मानवताविहीन बनाउँछ । तिनले महिलाको ज्युने अधिकार खोस्छ । यो गलत होइन र ? यो फिल्म हेर्दा तपाईं कतै स्त्री खतना र अनर किलिङलाई स्वीकृति दिनु हुन्छ । सर, तपाईं भन्नु होला, मैले तिललाई पहाड बनाइरहेकी छु । मैले त यसलाई सन्दर्भका आधारमा हेर्नुपर्छ । १३ औँ शताब्दीका मानिसहरूबारे बनाइएको फिल्म हो । त्यसबेला बहुविवाह स्वीकृत थियो । मुस्लिमहरु जनावर जस्तै थिए, उनीहरु मासु खानु र स्त्री भोग गर्नु उस्तै ठान्थे । अधिकांश महिला त्यो बेला खुशी खुशी आफ्ना मृत लोग्नेको चितामा बस्थे । कतिसम्म भने उनीहरु सामूहिक आत्महत्याको सोचलाई यति रुचाउँथे कि साज श्रृंगारका बेला उनीहरु यसबारे हाँस्दै कुरा गर्थे र यस्तो सम्भव छ भनी तपाईंले मलाई बुझाउन खोज्नु होला । अहँ, म यो मान्दिनँ सर । आफ्ना क्रुर प्रथाका साथ १३ औँ शताब्दीको राजस्थान त्यस महाकाव्यको ऐतिहासिक रंगमञ्च हो, जसको रुपान्तरण तपाईंले आफ्नो फिल्म ‘पद्मावत’ मा गर्नुभएको छ । तर तपाईंको फिल्मको सन्दर्भ २१ औँ शताब्दीको भारत हो, जहाँ देशको राजधानीमा एक युुवतीको बसभित्रै सामूहिक बलात्कार हुने गर्छ । उसले आफ्नो सम्मान अपवित्र भएका कारण आत्महत्या गरिन । सर, बरु ऊ त आफ्ना ६ जना बलात्कारीसँग जुझी । उसको लडाईंमा यति शक्ति थियो कि बलात्कारीमध्ये एक राक्षसले फलामको छड गुप्ताङ्गमै छिराइदियो । ऊ सकडमा फ्याँकिई । यो घटना यहाँ घुसाएकामा माफी माग्छु तर सर तपाईंको फिल्मको वास्तविक ‘सन्दर्भ’ यही हो । तपाईंको फिल्म रिलिज हुनु एक साता पहिले एक १५ वर्षीया दलित युवतीका साथ हरियाणाको जिन्दमा बर्बरतापूर्वक सामूहिक बलात्कार गरियो । यो अपराध निर्भयता बलात्कार घटनासँग उस्तै मिल्दोजुल्दो थियो । तपाईंलाई थाहै छ, सती र स्त्रीका साथ बलात्कार एकै किसिमको मानसिकताका दुई पाटा हुन् । एउटा बलात्कार, स्त्रीलाई नियन्त्रित गर्नका लागि, उसमाथि वर्चश्व स्थापित गर्नका लागि या उसकै अस्तित्व मेटाउनका लागि उसको स्त्रीअङ्गमाथि आक्रमण गर्न र उसलाई अनादर गर्न र उसलाई क्षत–विक्षत गर्ने प्रयास गर्छ । सती–जौहरमा रुचि नदेखाउने वा अमरमगर गर्ने स्त्रीलाई त्यो बेला के गरिन्थ्यो ? कुनै स्त्रीको योनिको अनादर गरिए वा त्यो योनी उसको ‘वैध’ पुरुष मालिकको नियन्त्रणमा नभए स्त्रीलाई उसकै योनीमा सीमित पारिन्छ । कुनै पनि कलाको सन्दर्भ त्यो समय र स्थान हुन्छ जहाँ र जहिले त्यसको निर्माण र उपभोग हुन्छ । तपाईंले आफ्नो फिल्ममा सती र जौहर प्रथाको आलोचना गर्न सक्नुहुन्थ्यो तर गर्नु भएन । भन्नलाई त तपाईंले शुरुवातमै ‘डिसक्लेमर’ दिइएको छ भन्नु होला । तर फिल्मको २ घण्टा ४५ मिनेटभरी नै राजपुती आनबानशान, चितामा जलेर मर्ने जुन बाटो छाने त्यसलाई राजपुत स्त्रीको साहसको जयगीत सुनाइरहनु भयो नि ! ती महिला आफ्ना पतिका अतिक्ति कुनै दुस्मनद्वारा छोइएकामा, जो संयोगले मुस्लिम थिए, चितामा जली मर्ने बाटो रोज्छन् । ती पटकभन्दा बढी तपाईं कथाका राम्रा चरित्रले सती÷जौहरलाई एक सम्मानलायक विकल्प भनी बताए । तपाईंकी नायिका सुन्दरता र बुद्धिको साक्षात उदाहरण छिन्, उसले आफ्नी लोग्नेसँग जौहरको स्वीकृति माग्छे किनभने उसको स्वीकृतिबेगर उसले यो गर्न सक्तिन थिई । यसपछि उसले सत्य–असत्य, धर्म–अधर्मबारे सामूहिक सतीलाई सत्य र धर्मको बाटो भन्दै लामो भाषण दिन्छे । अनि, क्लाइमेक्समा, जसलाई ज्यादै भव्य तरिकाले फिल्माङ्कन गरिएको छ, देवी दुर्गाले झैँ रातो रङको कपडामा सजिएका सयौँ स्त्री जौहरको आगोमा हाम्फाल्छन् । अर्कोतर्फ एउटा उन्मादी मुस्लिम मनोरोगी खलनायक ऊतर्फ हेरिरहन्छ र ब्याकग्राउन्डमा एउटा संगीत बज्छ, जसमा कुनै राष्ट्रगान जस्तै शक्ति छ । यस दृष्यमा दर्शकलाई अचम्मित पारिदिने र यस खेलको प्रशंसक बनाइदिने क्षमता छ । सर, यसले सती र जौहरलाई महिमामण्डन गरेको होइन भने गरेको के हो त ? फिल्मको क्लाइमेक्समा जब गर्भवती महिला र साना काखे बालिका बोक्दै आगोमा कुदिरहेका महिला देख्दा मलाई अति असहज महसुस भयो । मलाई लाग्यो– ईश्वरको कानमा नपरोस्, ममाथि कुनै नराम्रो घटना भयो भने त मेरो पूरै अस्तित्व नै गैरकानुनी हुने रहेछ ! त्यसबाट जोगिन मैले आगोमै हाम्फाल्नु पर्नेरहेछ ! म यस्तो अवस्थामा के गर्थें होला ? जीवनभर म खिलजीजस्तो राक्षसको सधैँका लागि दासी बन्नु नै परे पनि हाम्फाल्दिन थिएँ होला ! मृत्युको साटो जीवन चुन्नु मेरो गल्ती हो ? फिल्म हेर्दैगर्दा मलाई त के लाग्यो भने सायद म मृत्यु नै रोज्थेँ होला । सर, फिल्मको शक्ति यही हो, मानिसलाई मानसिक रुपमा तयार पार्नु नै तपाईंको शक्ति हो । सर, तपाईंको सिनेमा खासगरी प्रेरणादायक, भावना जगाउने र शक्तिशाली हुन्छन् । यसले दर्शकलाई भावुकताको ज्वारभाटामा हुत्याउन सक्छन् । यसले सोचलाई प्रभावित तुल्याउन सक्छन् र सर यही कारण तपाईं सचेत हुनुपर्छ कि तपाईंले फिल्ममार्फत् के भन्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ ! १८२९ देखि १८६१ का बीच केही सुधारवादी सोच राख्ने भारतीय तथा बेलायती प्रान्तीय सरकार र राजाहरूले सतीप्रथालाई प्रतिबन्ध लगाए र यसलाई अपराध घोषित गरे । स्वतन्त्र भारतमा इन्डियन सती प्रिभेन्सन एक्ट (१९८८) ले सतीका लागि सहयोग पु¥याउने, सतीका लागि उकास्ने र सतीलाई कुनै तरिकाले महिमामण्डन गर्नेलाई अपराधी र अपराधको श्रेणीमा पु¥याएको छ । यसलाई समेत सोच्दै नसोची यस स्त्रीविरोधी आपराधिक प्रथालाई जसरी महिमामण्डन गर्नुभएको छ, त्यसबारे तपाईंले जवाफ दिनुपर्छ । सर, टिकट किनेर तपाईंको फिल्म हेरिसकेकी एक दर्शकको हैसियतले तपाईंलाई यो प्रश्न सोध्ने अधिकार छ र सोध्छु– तपाईंले यस्तो किन गर्नुभयो ? तपाईंलाई थाहै होला, आधुनिक भारतमा जौहरजस्तो कृत्यका कैयौँ उदाहरण पाइन्छन् । भारत र पाकिस्तानको रक्तरञ्जित विभाजनका बेला करिब ७५ हजार महिलाका साथ बलात्कार, अपहरण गरियो । उनीहरुलाई ‘अन्य’ धर्मका पुरुषले बलपूर्वक गर्भवती बनाए । त्यस बेला स्त्रीले स्वैच्छिक या सहयोग दिई आत्महत्या गराइएको कैयौँ घटना पाइन्छन् । केही घटनामा ‘अन्य’ धर्मका मानिसले स्त्रीलाई छुन पाइयोस् भनेर पहिले लोग्ने र बाबुले आफ्ना पत्नी र छोरीहरूको टाउको गिँडेका थिए । पञ्जाबको थोआ खालसामा दंगाको भुक्तभोगी वीरबहादुर सिंहले आत्महत्या गराउनका लागि गाउँको इनारमा महिलाहरू हाम्फालेको दृश्य वर्णन गरेका थिए । उनले आधा घण्टामा नै कसरी इनार भरिएको थियो र जो महिला माथि थिए, उनीहरु बाँच्न पुगे भनी वर्णन गरेका थिए । बच्नेमध्येकी उनकी आमा पनि थिइन् । सिंहले उर्वशी बुटालियाकी सन् १९९८ मा प्रकाशित पुस्तक ‘द अदर साइड अफ साइलेन्स’मा स्मरण गर्दै भनेका थिए, उनी आफ्नी आमा ज्यूँदै भएकीमा लज्जित थिए । यो भारतीय इतिहासको सबैभन्दा कालो अध्यायमध्ये एक थियो र यसलाई शर्म, डर, दुःख, आत्मचिन्तन, सहानुभूति, सतर्कताका साथ स्मरण गर्नु आवश्यक छ । यसलाई विचारहीन, सनसनीखेज तथा महिमामण्डन गर्नु अपराधसरह हुनेछ । विभाजनको यो पीडादायी कथा उति प्रत्यक्ष रुपमा नभए पनि तर तपाईंको फिल्म ‘पद्मावत’को सन्दर्भ चाहिँ बन्छ । भन्साली सर, म तपाईंसँग झगडा गर्ने मूडमा यो पत्र समाप्त गर्न चाहन्नँ । तपाईंको इच्छाअनुसार अझै धेरै फिल्म बनाउन, त्यसको सुटिङ गर्न र तिनलाई रिलिज गर्नका लागि धेरैधेरै शुभकामना दिन्छु । म चाहन्छु, तपाईं, तपाईंका कलाकार, निर्माता, स्टुडियो र दर्शक धम्कीहरु र उपद्रवीहरूबाट सुरक्षित रहनुहोस् । तपाईंको अभिव्यक्ति स्वतन्त्रताका लागि मैले ट्रोलहरू र टेलिभिजन टिप्पणीकारहरूसँग अझै पनि लड्छु, उनीहरुसँग भिड्छु । तर, म तपाईंसँग के पनि भन्छु भने तपाईं जनताका लागि जुन कला रच्नु हुन्छ, त्यसबापत तपाईंलाई प्रश्न सोध्नबाट चुक्दिनँ । यसका साथै म के पनि कामना गर्छु भने करणी सेना या मरणी सेनाका कुनै उन्मादी सदस्यको मनमा सती प्रथालाई अपराधको श्रेणीबाट हटाउने माग गर्ने सोच नआओस् ! तपाईंकी स्वरा भाष्कर साभार- नयाँपेज

Facebook Comments Box

फेसबुक