२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

स्वदेशमा नै मासिक ५० हजार कमाइरहेको छु

मेरो नाम लक्ष्मण विसी हो । मेरो घर रुपन्देहीमा पर्दछ । हाल काठमाडौंमा बस्दछु । पासपोर्ट बनाएर विदेश जानलाई तयार भइसकेको थिएँ । साथिहरु र दाईहरुले एउटा तालिम खुलेको छ, लिन जाउ भन्नुभयो । त्यहाँ तालिम लिएपछि आफैं व्यवसाय गर्न सकिन्छ भन्नुभयो । त्यसपछि म पासपोर्ट थन्क्याएर आल्मुनियम फेब्रिकेटरको तीन महिना लामो तालिममा सहभागि भएँ ।

तीन महिनाको तालिम लिएँ । तालिम सकेपछि आफैंले व्यवसाय सुरु गर्ने योजना बनाएँ । ५० हजार त मेरो साथमा नै थियो । बाँकी केहि रकम फाइनान्सबाट ऋण लिएँ । जम्मा १ लाख ४० हजार लगानी पर्यो । विदेश जाँदा पैसा पनि लगानी गर्नुपर्यो, ज्यान पनि त ठेगान हुन्न । यहाँ आफ्नै ठाउँमा काम गर्न थालेपछि सन्तुष्ट भएँ ।

धेरै मान्छेलाई काममा लगाएर, धेरै काम लिएर गर्न सकियो भनें यो क्षेत्रमा निक्कै फाइदा छ । त्यसो गर्न सकिएन भनें पनि ठिकै छ । दुईतीन जनासम्म काम गर्ने साथिहरु राखेर काम गर्दा पनि उनीहरुलाई तलव दिएर आफ्ना लागि महिनामा ५० हजार भन्दा बढी नै फाइदा हुन्छ ।

खाडीका मुलुक र मलेसियामा हुने काम र कमाई भन्दा नेपालमा नै राम्रो छ । बालबच्चा पालेर महिनामा ५०-६० हजार कमाई हुन्छ । विदेशमा पनि हामी त्यो भन्दा धेरै त कमाउन सक्दैनौं । यहाँ आफ्ना जहाज, बालबच्चासँगै बस्न पाइएको छ ।

नेपालमा काम गर्दाको अर्को फाइदा भनेको यहाँको काम त्यति धेरै जोखिमपूर्ण पनि छैन । दुईतीन तल्लाका घरमा हो हामीले सामान्यतया काम गर्ने । त्यसैले तिनिहरुमा काम गर्दा सुरक्षाका हिसावले धेरै चिन्ता हुन्न । विदेशमा त धेरै तल्लाका घरहरुमा काम गर्नुपर्ने हुन्छ भन्ने सुनेको छु ।

मसँग काम गर्ने एकजना मिस्त्रि र एकजना हेल्पर छन् । मैले मिस्त्रिलाई मासिक २० हजार तलव दिएको छु । हेल्परलाई १० हजार छ । उनीहरुको खाना खर्च देखि लिएर सवै खर्च मैले नै उपलव्ध गराएको छु । त्यसैले सरदर उनीहरुको सवै खर्चसमेत जोड्दा मिस्त्रिको मासिक ३० हजार भन्दा माथि र हेल्परको मासिक २० हजार माथि हुन्छ । हेल्परको काम पनि बढीमा १ बर्ष सिक्ने हो । त्यसपछि मिस्त्रि हुन सकिहालिन्छ । मसँग नै काम गर्ने धेरै भाईहरु मिस्त्रि भइसकेका छन् । उनीहरु अहिले आफ्नै व्यवसाय गरिरहेका छन् । त्यसैले स्वदेशमा नै मेरो जस्तै काम गर्दा पनि राम्रो फाइदा छ । अन्यत्र काम गरेपनि भयो । मैले जस्तै केहि लगानी गरेर आफ्नै व्यवसाय गर्दा पनि भयो ।

विदेश जाँदा मेनपावर कम्पनी वा एजेण्टलाई एक डेढलाख बुझाएर जाने हो । त्यत्रो लगानी गरेर जाँदा त्यो लगानी उठाउने, कमाउने अवस्था हुन्छ, हुन्न ठेगान हुन्न । यहाँ त विना लगानी नै काम गर्न पाइयो । त्यसैले विदेश जाँदा लाग्ने खर्च बचत हुन्छ । २०-३० हजार कमाउन नेपालमा खासै समस्या छैन भन्ने लाग्छ ।

(कोटेश्वरमा आल्मुनियम फेब्रिकेटरको आफ्नै उद्योग चलाइरहेका विसीसँगको कुराकानीमा आधारित । विसीसँगको कुराकानी हरेक शनिवार विहान ९ः १५ देखि १० बजेसम्म देशका २२ वटा रेडियो स्टेशनहरुबाट प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको हो)

शाभार- देश प्रदेश

Facebook Comments Box

फेसबुक