२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

‘स‌ंस्कृति जोगाउन छोरा-बुहारीलाई नाच्न सिकायौं’

भगवती पाण्डे -बाहिर चकमन्न अँध्यारो भइसक्दा उनीहरू भने साँस्कृतिक कार्यक्रमको तयारी गर्दै थिए। सेतो र रातो फरियामाथि कालो चोलीमा सजिएका महिला र सेतो कमिज र धोतीमा सजिएका पुरुषहरू होमस्टेको हलमा प्रवेश गर्दा दर्शक दिर्घातर्फको हल भरिसकेको थियो।छल्लुराम महतोले ढोलक बजाउन सुरू नगर्दै दस जनाको समूह हातमा लाठी लिएर नाच्न तयार भइसकेको थियो।

मंसिर अन्तिम साता, साँझ नपर्दै चिसो बढिसकेको थियो। वरिपरि जंगलले घेरिएको र नारायणी नदी किनारमा रहेकोले पनि होला बाघखोर ‘अमलटारी’ मा साँझ बिहान चिसो सिरेटो चल्छ।मंसिरको चिसोमा पनि बाजा र लाठीको तालमा गरिएको नृत्यले त्यहाँको माहोल गुञ्जायमान भइरहेको थियो।एकैप्रकारको पोशाक, एउटै ताल र लयमा लाठी ठोकेर नाचिरहँदा त्यहाँको माहोल झन् रोमाञ्चक देखिन्थ्यो।ढोलक जुन तालमा बज्दै जान्छ, त्यसैको तालमा नाचिरहेका महिला र पुरुषले हातमा छोपेको लाठी पनि बजाउँदै जान्छन्।ढोलकको ताल थोरै मात्र पनि तलमाथि भयो कि लाठीको ताल र उनीहरूको नृत्य पनि बिग्रिहाल्छ। बाजाको तालमा आफ्नो अगाडि र पछाडि रहेकाहरूको लाठीसँग आफ्नो हातको लाठी ठोक्काउँदै नाच्नु हेर्दा जति आकर्षक देखिन्छ ताल बिग्रियो भने त्यति नै जोखिम पनि हुन्छ।

धनमाया महतोलाई आठ वर्ष अघिसम्म नाचगानप्रति खासै रुचि थिएन। परम्परागत थारु संस्कृतिप्रति जानकार रहे पनि थारु संस्कृतिका नाचलाई आफ्नो पेशा बनाउँछु भन्ने उनले सोचेकी पनि थिइनन्।धनमायाको आठ वर्षअघि पूर्वी नवलपरासीको कावासोती १५ बाघखोरका चन्द्र बहादुर महतोसँग विवाह भयो।जतिबेला बाघखोर ‘अमलटारी’ मा थारु होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको थियो। पाहुनाहरूलाई प्राकृतिक दृश्यहरूको अवलोकन, स्थानीय परिकारको स्वादसँगै त्यहाँको भेषभूषा र साँस्कृतिक कार्यक्रम देखाउनु होमस्टेको महत्वपूर्ण पाटो मानिन्छन्।

अधिकांश थारु र केही बोटे समुदाय बसोबास गर्ने अमलटारीमा होमस्टे सञ्चालनसँगै थारु र बोटे समुदायका साँस्कृतिक कार्यक्रम देखाउन थालिएको हो।

पाँच हजार शुल्क तिरेपछि एक घण्टा देखाइने साँस्कृतिक कार्यक्रममा थारु समुदायको चर्चित लठ्ठी नाच, झुमरा नाच, जोगेडा नाच, झर्रा नाच र बोटे समुदायको गोलेनी नाच नाचिन्छ।

सुरूआती दिनमा होमस्टे चलाइएका घरका छोराछोरीबाट साँस्कृतिक कार्यक्रम सुरू गरिए पनि त्यो दीगो हुन नसकेपछि विवाहित छोरा बुहारीहरूलाई सिकाउन थालिएको होमस्टे साँस्कृतिक समूहका संयोजक चन्द्र बहादुर महतो बताउँछन्।

चन्द्रबहादुर र धनमाया श्रीमान श्रीमती हुन्। श्रीमतीसँगै गाउँका अरु बुहारीहरूलाई साँस्कृतिक कार्यक्रममा सहभागी गराउनुको उद्देश्यबारे चन्द्रबहादुर भन्छन्, ‘स्कुल कलेज पढ्ने र अविवाहित छोरा छोरीलाई नाच्न सिकायो एक दुई महिना नहुँदै विवाह भएर अर्को गाउँ गइहाल्ने, स्कुल पढ्नेहरू पनि परीक्षाको बेला लामो समय नाच्न नआउने भएपछि होमस्टे चलाइरहेका छोरा बुहारीहरू त कहीँ जाँदैनन् भनेर आफैं नाच्न सिक्यौं।’

सुरूआती दिनमा केही अप्ठ्यारो लागे पनि अहिले त्यस्तो नहुने समूहका सदस्य गीता महतो बताउँछिन्।

‘सुरूमा त नाच्न सिक्न गाह्रै भयो’, उनले भनिन्, ‘केही समय बाहिरबाट प्रशिक्षक बोलाएर सिक्यौं, हप्ता दस दिनमै नाच्न जान्यौं।‘

होमस्टे चलाइरहेका घरका छोरा बुहारी नाच्न थालेपछि समूहबाट छुट्टिने र पटक/पटक नाच्न सिकाइरहनुपर्ने बाध्यता पनि हटेको छ।

होमस्टे साँस्कृतिक समूहमा १२ जोडी श्रीमान् श्रीमती नाच्ने गर्छन्। ३२ जनाको उक्त समूहमा रहेका केही महिलाका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेका छन्।

होमस्टेको व्यवस्थापन गर्दै आएका धनिराम गुरौ एउटै गाउँ टोल र घरकै श्रीमान श्रीमती साँस्कृतिक समूहमा रहँदा सुरक्षित हुनुको साथै एकअर्काको कामप्रति सम्मान समेत बढ्दै गएको बताउँछन्।

साँझ बिहान पाहुनाको खानपिनको लागि श्रीमतीलाई सघाउने श्रीमानहरू राति देखाउने साँस्कृतिक कार्यक्रममा पनि सँगसँगै नाच्छन्।

महिला पुरुषको यही सहकार्यको कारण नवलपरासीको डण्डादेखि ६ किलोमिटर दक्षिणको यो वस्तीले छोटो समयमै काँचुली फेरेको छ।

‘होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूसँग कुरा गर्दागर्दै हामीमा आत्मविश्वास बढेको छ,’ मीना महतोले भनिन्।

अधिकांश स्वदेशी पर्यटक आउने भएकोले पनि आफ्नो संस्कृतिको संरक्षण र प्रचारप्रसारका लागि साँस्कृतिक कार्यक्रम सुरू गरिएको साँस्कृतिक समूहका संयोजक चन्द्रबहादुरले बताए।

‘बाहिरबाट मानिस आउन थालेपछि थारु संस्कृति बुझ्न खोज्नुभयो त्यसले पनि हामी संस्कृति संरक्षणमा चनाखो भयौं,’ उनले भने ‘यहाँ आउने धेरैजसो त थारु संस्कृति बुझ्न, थारु समुदायको खाना खान मात्र पनि आउनुहुन्छ।’

थारु संस्कृति देखाएकै कारण यहाँको पर्यटन क्षेत्र फस्टाउँदै गएको उनीहरूको बुझाइ छ।

थारु युवायुवतीमा आएको साँस्कृतिक सचेतनाको कारण वनजंगल र वन्यजन्तुको संरक्षणसँगै सुरू गरिएको होमस्टे अहिले थारु संस्कृति र पर्यटनको पर्याय बन्न पुगेको छ। उनीहरूले साँस्कृतिक कार्यक्रमसँगै थारु संस्कृतिका परम्परागत सामग्रीलाई संग्रहालय बनाएर प्रदर्शन गर्न थालेका छन्।

गोरुले तान्ने लडिया, माछा मारेर राख्ने डेली, ढिकी जाँतो, महिलाहरूका परम्परागत चाँदीका गरगहना तथा हस्तकलाका सामग्री संग्रहालयमा राखिएका छन्।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक