२०८१ बैशाख, ३
||NEWS LUMBINI |

‘हेर म मिन्स भएकी छु, तिमी चाहन्छौ भने कन्डम प्रयोग गर ।’

कोठीको मेरो बसाई सप्तरंगी संवेदनले भरिएको भयो । ग्राहकहरुमध्ये कतिपय भावुक हुन्थे र आमा भन्थे । कोही प्रभावित हुन्थे अनि प्रेमी बन्न खोज्थे ।

 

 

मलाई कसैले विवाह गर्छु भने, कसैले प्रेम गर्छु भने । त्यस्ता अनेक ग्राहकहरुको भिडमा एक दिन एउटा अनाैंठो ग्राहक आयो । हरेक दिन समय किनेर मसँग कुरा मात्र गथ्र्यो । मसँग शारीरिक सम्पर्क भने गर्दैनथ्यो । उसको नाम राजेश त्रिवेदी थियो । हेर्दा अली-अली हिन्दी सिनेमाको हिरो मिथुन चक्रवर्तीजस्तो देखिन्थ्यो । उसको कपाल पनि मिथुन स्टाइलकै थियो । राजेश पहिलो पटक आएको दिन म नछुनी भएकी थिएँ । त्यो कुरा मैले घरवालीलाई पनि भनेकी थिइनँ । राजेश मेरो कोठामा छिरेपछि मैले उसलाई भनें, ‘हेर म मिन्स भएकी छु, तिमी चाहन्छौ भने कन्डम प्रयोग गर ।’ कोठीमा कण्डम प्रयोग नगरी ग्राहकलाई शारीरिक सम्पर्क गर्न दिइदैनथ्यो । ‘ठीक छ, त्यसो हो भने तिमीसँग आज म गफ मात्र गर्छु’, उसले भन्यो ।

पहिलो दिन गफ गरेरै दुई तिन घन्टा बितायो र फर्कियो । मलाई लागेको थियो, अब राजेश फर्केर फेरी आउने छैन । तर अर्को दिन ऊ फेरी मैलाई खोज्दै आयो र मेरो क्याबिनमा छिर्‍यो । दोश्रो दिन पनि उसले मसँग शारिरीक सम्पर्कको प्रसँगै निकालेन । गफ गरेरै बितायो । लाग्थ्यो, उ मसँग गफमै रमाइरहेको छ । उसले मेरो शरीर हैन, समय किनेको हुन्थ्यो । उ नियमित आउँथ्यो, प्रायः दिउँसो तिन घन्टाका लागि समय किन्थ्यो र मसँग गफ मात्र गरेर बिताउँथ्यो । खानाहरु सबै भित्रै मगाउँथ्यो । हामी खाँदै गफ गथ्र्यौं ।

गफगाफका क्रममा मबाट राजेशले धेरै कुरा फुत्काउन खोज्थ्यो । उ त्यसो किन गरीरहेको थियो, मलाई थाहा थिएन । ऊ धेरै अन्तरंग कुरा गरेर समय विताउँन चाहन्थ्यो । उसका आँखामा म प्रतिको लगाव देखिन्थ्यो । म बुझ् पचाउँथे । विश्वास गर्दिन थिएँ । हुन पनि हो मैले कसरी उसले भनेको कुरामा भरोसा गर्न सक्थें । म टार्न खोज्थें ।

एक दिनको बसाईमा उसले मलाई सोध्यो-‘मलाई थाहा छ तिमी यहाँको पुरानो केटी होइनौ । मलाई के पनि थाहा छ भने तिमी बिस वर्ष उमेर पुगेकी पनि होइनौं । तैपनि तिमी किन मलाई आफ्नो उमेर र यहाँ आउनुको कारण ढाँटी रहेकै छौ ? तिमी नेपाली केटी हौँ भन्ने मैले चाल पाइसकेको छु । तिमी मलाई नढाँट, मलाई नेपालको ठेगाना देऊ, म तिमीलाई नेपाल पुर्‍याउँछु ।’

घरवालीले मेरो दिमाग पहिले नै भुटी सकेकी थिइ । त्यहाँबाट निस्केर गएमा झन् डरलाग्दो ठाउँमा जानु पर्नेछ भनेर उसले मलाई तर्साइ सकेकी थिई । अर्को कुरा राजेशसँगै जाँदा मैले ती सारा बन्धन र बाध्यताबाट छुटकारा पाउँछु भन्ने मलाई पटक्कै विश्वास थिएन । आफुले पटक-पटक खानु परेको धोकाका कारण म कसैप्रति हतपत विश्वास गरी हाल्ने अवस्थामा पनि थिइन् ।

‘म नेपालकी हुँदा पनि हैन, नेपालमा मेरो परिवार पनि छैन । यो धन्दा मैले आफ्नो राजी खुशीले गरी रहेकी हुँ । तिमीले मलाई यहाँबाट कतै लैजानु पनि पर्दैन’, मैले भनें । मेरो कुरा राजेशले पटक्कै पत्याएन । उ धेरै पटक कोठीमा मलाई भेटन आइरह्यो । अन्तीममा उसले अर्को जुक्ती लगायो । उसले भन्यो, ‘म तिमीसँग विवाह गर्छु । जसरी भए पनि म तिमीलाई यहाँबाट बाहिर निकाल्छु ।’

‘हेर तिमी यो ठाउँमा आएर मसँग यस्ता कुरा नगर । तिमीले मेरो समय किनेका छौ, आफ्नो इच्छा पुरा गरेर जाउँ । हैन भने यहाँ आएर मसँग माया प्रेमका कुरा नगर । मलाई धन्दाको समयमा यस्तो फाल्तु कुरा गरेको मन पनि पर्दैन’, मैले पनि धन्दाको नियमभित्र घरवालीले बताए अनुसारको भूमिका निर्वाह गर्दै भनें ।

‘म तिमीलाई साँचो माया गर्छु नि !’, उसले भन्यो । ‘साँचो मायाको खोजी गरेको भए तिमी यो ठाउँमा आउने थिएनौ, बाहिर नै तिमीले माया गर्ने भेटी हाल्थ्यौ नि !, बाहिर नै तिम्रो घरजम भइसक्थ्यो, यहाँ किन आउँथ्यौ र ?’, मैले भनें ।

‘सबै मान्छे एउटै हुँदैनन्, सबैलाई एउटै डालोमा राखेर नहेर न’, उसले भन्यो ।

‘तिमी जेसुकै भन, यो कोठीमा आउनेलाई म एउटै नजरले हेर्छु । मेरा लागि तिमीहरु सबै ग्राहक हौ । त्यसरी आउने ग्राहकहरुमध्ये को-को , के-के सोचेर आउँछन् ? त्यो मेरो सरोकारको विषय होइन, मेरो सरोकारको विषय भनेको ग्राहकलाई सन्तुष्टी प्रदान गर्ने हो । यहाँ भोगको अर्थ हुन्छ, भावनाको हुँदैन, तिमी भावनाका कुरा नगर ।’

मैले जेसुकै भनेर टारे पनि राजेश आउन छाडेन । आउने, तिन घन्टासम्म बस्ने अनि मलाई ‘कि हिँड कि बिहे गर’ भनेर कर गर्ने । कि ‘नेपालको ठेगाना दे, म पुर्‍याउँछु’ भन्ने ।
मैले उसलाई कहिल्यै विश्वास गरीनँ ।

बम्बईको ‘बरसात’

कोठीका केटीहरु फुर्सद पाउँदा फिल्म र गानाको पनि चर्चा गर्थे । हाम्रो बंगलामूनि पान पसलहरुमा नयाँ हिन्दी फिल्मका गानाहरु लाउड स्पीकरमा गुञ्जन्थे । त्यतिबेला अहिले झैँ सिडी या मोबाइलमा गीत सुन्ने चलन थिएन । हाम्रो सिटीङ रुममा एउटा क्यासेट प्लेयर थियो । जहाँ नयाँ चलचित्रका क्यासेट चक्का ल्याएर बजाइन्थ्यो र केटीहरु नाच्थे ।

‘हमको सिर्फ तुम से प्यार है’, एक साँझ तलको पान पसलेले यो गीत घन्कायो । कोठीका केटीहरु पनि त्यही गीत गुनगुनाउन थाले । त्यो गित खासमा हिन्दी चलचित्र ‘बरसात’ को रहेछ, जसमा बिलुकल नयाँ हिरो हिरोइनले अभिनय गरेका थिए ।

बम्बईमा अक्सर पानी परी रहन्छ । त्यो दिन संयोगले बम्बईमा ‘बरसात’ भइरहेको थियो । बाहिर पनि बरसात, हलमा पनि बरसात । ‘धर्मेन्दरका छोकरा बबी देवल भी हिरो बन गया है, और राजेश खन्नाकी छोकरी टवीन्कल खन्ना भी हिरोइन बन गयी है । दोनोका पिक्चर चल रहा है । चलो आज पिक्चर देखेने चलें’, कोठीकै एउटी पुरानी केटी सुनयनाले भनी ।

सुनयना कस्ती भनी घरवालीकी विश्वास पात्र थिइ । उ बेला-बेलामा बाहिर जान्थी र कोठीमै फर्केर आउँथी । मुम्बईका होटलदेखि दुबईसम्म पुग्थी । उसको विश्वासमा बेला-बेलामा कोठीका अन्य केटीहरु पनि केही घन्टाका लागि बाहिर कतै घुम्न या चलचित्र हेर्न जान्थे ।

शनिबारको दिन थियो । सुनयनाले भनी, ‘यहाँ रहते रहते दम घुट रहा है, चलो उषा आज पिक्चर देखने चलें, मौसम भी अच्छा है । धमेन्दरका बेटाका पिक्चर है ।’ पहिलो पटक म कोठीबाट बाहिर निस्कीएकी थिएँ । बम्बईको चमकधमकको हल्का छनक पाएकी थिएँ । कुन्नी के ‘टाकिज’ लेखिएको हलमा पुग्दा ‘बर्षात्’ चलचित्रको ठुलो पोस्टर टाँगीएको थियो । सुनयनाले नै मेरो पनि टिकट काटीदिई । बडो ठेलमठेल गरेर हामीले टिकट किन्नु परेको थियो ।

हामी हलभित्र प्रवेश गर्‍यौं । मैले जीवनमै पहिलो पटक ठुलो पर्दामा चलचित्र हेरेको थिएँ । मान्छेको चित्र सजिव झैं प्रकट भएको देख्दा, उसले जिवित मान्छेले झैं बोलेको, गीत गाएको र नाँचेको देख्दा म त आश्चर्यचकित भएकी थिएँ । हुनत, त्यसअघि पनि टि.भी.मा विभिन्न चलचित्र र गितहरु हेरेकी थिएँ । तर ठुलो पर्दामा हेर्दा आफु अगाडि नै कलाकार आएर बोलेको जस्तो लाग्ने रहेछ ।

‘हमको सिर्फ तुम से प्यार है’, यो गित चलचित्रमा गुञ्जदा मलाई पनि रमाइलो लाग्यो, किनकी त्यो गीत मैले पहिले नै सुनेकी थिएँ । गीतमा बबी देओल र टवीन्कल खन्ना नाँचेका थिए । सुनयनालाई बम्बईको चप्पाचप्पा थाहा थियो । चलचित्रमा बम्बईका विभिन्न ठाउँ देखाइन्थे । अनि सुनयना भन्थी, ‘देखो यह बान्द्राका सिन है, और वह समुन्दरवाला सिन जुहुवीचका है ।’

बम्बईको बाहिरी दृश्य मैले देखेकै थिइनँ, त्यसैले उनको कुरामा त्यति रुची थिएन । जे होस्, एउटा रोचक संयोग नै भन्नुपर्छ, मैले फिल्मी नगरी बम्बईमै पुगेर पहिलो पटक फिल्म हेर्ने मौका पाएकी थिएँ । ‘भरे फेरी एकान्तमा रुनु त छँदै’ थियो, तर त्यो अढाई घन्टा मैले बम्बईको एउटा विशेषताको दर्शन गर्ने मौका पाएकी थिएँ । धेरै दिनपछि मेरो मनमा मनोरञ्जनको विशुद्ध रस घोलिएको थियो । आफ्ना सारा पीडा भुलेर चलचित्र हेर्न पुगेकी थिएँ ।

‘पिक्चर अभी बाँकी है’ भने झैं चलचित्र हेरिरहेकै बेला केही केटाहरुले हामीलाई घुरेर हेर्न थाले । उनीहरुले हामीलाई अलि ‘र्‍याक’ गर्न थाले । केटाहरु हेर्दा त बबी देओलजस्तै हेण्डसम थिए, ठुलै घरानाका छोराहरुजस्ता थिए, तर व्यवहार भने कुकुरको जस्तो थियो ।

पुरा चलचित्र नहेरी वीचबाटै हामी हल बाहिर आयौं । ती केटाहरु पनि हल बाहिर निस्केर हामीलाई पछ्याउन थाले । हामी आत्तियौं । हामीले आफ्ना पाइलाहरु छिटो छिटो अघि बढाउन थाल्यौं । यसो पछाडि फर्किएर हेरेको, उनीहरु पनि झन झन छिटो छिटो आइरहेका रहेछन् । उनीहरुले हामीलाई नै ‘फलो’ गरिरहेका हुन् भन्ने स्पष्ट भयो ।

सुनयनाले मेरो हात च्याप्प समाती र दौडदै अली पर लगी । बाटोमा एउटा मोड आयो । हामीले त्यो मोड क्रस गर्‍यौं र सुटुक्क नजिकै रहेको एउटा बियर बारमा छिर्‍यौं । अर्थात् हामीलाई पछयाईरहेका केटाहरुलाई हामीले ‘चक्मा’ दियौं । केहीबेर बियर बारमा बसेपछि सुनयनाले टयाक्सी बोलाई । टयाक्सीमा चढेर हामी पुनः आफ्नो बंगलामा पुग्यौं ।

एक दिन शौभाग्यले यसो बाहिर उन्मुक्त भएर ‘बर्षात्’मा रुझ्न खोज्दासमेत बम्बईका लोभी पापी नजरहरुबाट बच्न हामीलाई हम्मेहम्मे परेको थियो । बंगलामा आएपछि घरवालीले हामीलाई केटाहरुले पछयाएको थाहा पाइ । ‘अबदेखि तिमीहरु आफ्नो खुशीले जाउ, आउ, तर नयाँ केटीहरुलाई बाहिर लैजाने हैन’, घरवालीले सुनयनालाई हप्काई । सुनयना गोडा बजार्दै रिस देखाउँदै आफ्नो कोठातिर लागी । म पनि केही नबोली ड्रेस चेन्ज गर्न आफ्नो कोठामा गएँ ।

कोठामा आएर गि्रलले बारिएको झ्यालबाट यसो बाहिर हेरें, झमझम पानी परी रहेको थियो र अली पर एउटा प्रेम जोडी छाता ओढेर बाटोमा गफ गर्दै, हाँस्दै हिंडीरहेको थियो-‘बबी देओल र टवीन्कल खन्ना झैं । आफ्नो त न प्रेमी थियो, न विशुद्ध प्रेम गर्ने फुर्सद । म त यस्तो पुष्पलता झैं थिए, जसलाई प्रेमको कोपीला टुसाउन नपाउँदै निमोठिएको थियो । वासनाका भोकाहरुको भिड लागिरहने त्यो कामाग्नी कुण्डमा के को प्रेम ! ? तैपनि तल पान पसलमा घन्कीरहेकै थियो- ‘हमको सिर्फ तुम से प्यार है’

सुुनीता दनुुवारको पुुस्तक आँसुुको शक्तिबाट

Facebook Comments Box

फेसबुक