२०७७ कार्तिक, १५

१०० मा फोन गरेर प्रहरीलाई बालिकाले ‘मेरो जबरजस्ती बिहे हुन लागेको छ’ भनेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा कहिले बित्नुभयो रञ्जना राना (नाम परिवर्तन) लाई थाहा छैन। होस् पनि कसरी?

उनको आमाले धर्ती छाड्दा उनी ३ वर्षकी थिइन् रे।

अहिले १४ वर्ष पुगिन्।

आमा बितेपछि बुवाले अर्को विवाह गरे। अहिले बुवा, कान्छी आमा र उनका छोराछोरी लिएर भारतमा बस्छन्।

रञ्जना गाउँकै पिताम्बर मावि कक्षा ९ मा पढ्छिन्। पढाइमा राम्रै गरिरहेकी छन्।

स्याङ्जा हरिनास गाउँपालिका ६ क्याक्मी अलि दुर्गममा पर्छ। गण्डकी प्रदेशमा शिक्षित जिल्ला भनेर स्याङ्जालाई चिनिन्छ।

तर त्यही जिल्लामा रहेको आफ्नै गाउँमा रञ्जना गएको हप्ता अप्ठेरोमा परिन्।

अँध्यारोतर्फ मोडिन लागेको जिन्दगीको लयलाई यी १४ वर्षीया किशोरी आफैंले बचाइन् पनि।

सदाझैं रञ्जना पुस ३ गते बिहीबार स्कुलबाट घर फर्किएकी थिइन्। घरमा ठूलीआमा आएकी थिइन्।

‘पूजा छ त्यसैले लिन आएकी,’ ठूलीआमाले उनलाई भनिन्।

अहिलेसम्म रञ्जना ठूलीआमाको घर पुगेकी थिइनन्। बज्यैले पनि ‘ठूलीआमाको घर हेर्न जा न त,’ भनिन्। रञ्जना तयार भइन्। बेलुकी ५ बजे हिँडिन्।

क्याक्मीकै देउरालीडाँडामा भएको ठूलीआमाको घर १ घण्टा हिँड्नुपर्‍यो।

घर पुगेर खाना खाए। सुत्न लागे। विवाह गरिदिने भनेर कुरा गर्न लागे।

बिहे गर्ने भनेको केटा ठूलीआमाकै छोरा पर्ने रहेछ। न कहिल्यै देखेको न त बोलेको नै। भारतमा बसेर आएको भन्ने रञ्जनाले सुनिन्।

‘अहिल्यै बिहे गर्दिनँ,’ रञ्जनाले भनिन्। उनी यतिबेलासम्म ओच्छ्यानमै थिइन्।

उनको कुरा कसैले सुनेन।  रातको १ बजिसकेको थियो उनलाई मानिसहरूले ओछ्यानबाट ताने।

‘म बेस्सरी रोएँ,’ रञ्जनाले सेतोपाटीलाई भनिन्, ‘मलाई उनीहरूले घिसारेर लगे।’

आफूभन्दा झण्डै दोब्बर उमेरका २७ वर्षीय सन्तबहादुर रानाको घर ठूलीआमाको घरबाट नजिकै रहेछ। २/३ मिनेटमै पुगे। रञ्जनासँग कक्षा ८ मा पढ्ने साथी पनि ठूलीआमाकहाँ आएकी थिइन्।

रञ्जना रोइरहिन्। यता, विवाहको काम अघि बढ्दै थियो। उनलाई केटाको घर भित्राउने भनेर जोर–जबर्जस्ती भइरह्यो। जबर्जस्ती टीका लगाइदिए। सन्तबहादुरको घरमा उनीहरू बस्नुपर्‍यो। रञ्जनाले त्यो रात साथीसँगै बसेर काटिन्।

बिहान भएपछि बज्यैले फोन गरिन्। रञ्जनाको आँशु अझै सकिएको थिएन। उनी फोनमै डाँको छोडिन्। भनिन्, ‘मलाई छिटो लिन आउनु।’ त्यसपछि उनलाई अंकलले फोन गरे। अंकललाई पनि त्यही भनिन्।

रञ्जनाका अनुसार, ठूलीआमाले उनको बिहे गरिदिन लागेको कुरा बज्यै र अंकललाई थाहा रहेनछ।

छोरी रोएको देखेर अंकलको मन कुँडियो, उनी लिन गए।

बिहे गरिएको भनिएको घरबाट माथि डाँडातिर रञ्जना र उनको साथी निस्किए। अंकल लिन आइसकेका थिए।

उनले प्रहरीलाई खबर गर्नुपर्छ भन्ने ठानिन्। टोल फ्री नम्बर १०० मा अंकलले फोन लगाइदिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा फोन उठ्यो। र घटनाबारे जानकारी गराए।

जिल्ला प्रहरी कार्यालयले तत्काल हरिनास गाउँपालिका हेर्ने इलाका प्रहरी कार्यालयलाई जानकारी गरायो।

‘शुक्रबार दिउँसो १२ बजेतिर जब यो खबर आयो, हामी कुदेर घटनास्थल गयौं, इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर हरिबहादुर क्षेत्रीले भने, ‘२ बजे घटनास्थल पुग्दा विवाह भने रोकिएको थियो। बालिका रोइरहेकी थिइन्।’

इन्स्पेक्टरले तत्काल सोधपुछ थाल्यो।

बालविवाह गर्न लागेका सन्तबहादुर रानालाई पक्राउ गर्‍यो। बालिकालाई ललाइफकाइ र जबजस्ती गर्ने ठूलीआमा सुना राना र बेलबहादुर रानालाई मतियारको रूपमा पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखेर अनुसन्धान जारी राखेको स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए।

‘आमा छैनन्, भतिजीले दु:ख पाउलिन्’ भनेर बिहे गरिदिन लागेको जवाफ ठूली आमाले प्रहरीलाई दिएकी छन्।

डिएसपी भण्डारीले उनीहरू तीनै जनाको अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको बताए। उनीहरूलाई छिट्टै बालविवाहसम्बन्धी कानूनअन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा २० वर्षभन्दा कम उमेरमा विवाह गरे स्वतः बदर हुने उल्लेख छ। बालविवाहसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद सजाय र ३० हजार रुयैयाँ जरिवाना तोकिएको छ।

यो मुद्दा कसरी प्रहरीसम्म पुग्यो त?

बालविवाह अपराध हो भन्ने कुरा बालबालिकालाई थाहा हुनुपर्ने र त्यसको उपचार विधि पनि बालबालिकासम्मै पुर्‍याएको स्याङ्जाका डिएसपी भण्डारी बताउँछन्।

भण्डारीले प्रहरी–समुदाय साझेदारी कार्यक्रम र स्कुल सम्पर्क कार्यक्रमको नतिजा मान्छन्, यो घटनालाई।

उनले स्याङ्जामा समुदाय र स्कुलमा बालविवाह, लागुऔषध दुर्व्यसनी, अन्य आपराधिक घटना कम गर्न कारबाहीका साथसाथै सचेतना अभियान चलाएको बताए।

यस्तो अभियानमा जुनसुकै घटना भए पनि नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रहरी प्रमुख र टोल फ्री नम्बर वितरण गर्ने गरेको सुनाए।

यता, विद्यालयमा पनि बालअधिकारबारे कुरा गर्दा रहेछन्।

गत वर्ष बालदिवसको अवसरमा विद्यालयका शिक्षक गोपाल लम्सालले नयाँ संहितामा भएका बालअधिकारबारे विद्यार्थीलाई जानकारी गराएको स्मरण गर्छन्।

कानून विषय पढेका शिक्षक लम्सालले मुलुकी अपराध संहितामा भएको व्यवस्था नै पढेर सुनाइदिएको र त्यसको व्याख्या गरिदिएका थिए। ‘बालविवाह, बहुविवाह, बालअधिकारका कुरा हामीले जानकारी गराएका छौं,’ लम्सालले भने, ‘१६ वर्षभन्दा तल मेलमिलापमा पनि जान पाइँदैन, यो पनि हाम्रा विद्यार्थीलाई थाहा छ।’

गाउँमा बालविवाह र बहुविवाहको उदाहरण हेर्न भन्ने गरेको भन्दै शिक्षक लम्सालले विद्याार्थी माझ बुढापाकाले भन्ने गरेको ‘कर्मको खेल, बोक्सी’ जस्ता प्रथा पनि वाहियात भनेर पढाएको बताए ।

‘राम्रो काम गरे राम्रै परिणाम, नराम्रो काम गरे नराम्रै परिणाम निस्कन्छ,’ उनले भने, ‘अब बालबालिका नै सचेत हुन थालेका छन्, यो खुसीको कुरा हो।’

बालविवाहबाट उम्किएर रञ्जना अहिले नियमित स्कुल जान थालेको विद्यालयका प्राचार्य शालिकराम लम्सालले बताए।

‘हामीले यो घटना थाहा पाएपछि नानीलाई बोलाएर हौसला दिएका छौं,’ उनले भने, ‘जुनसुकै समस्या आए पनि हामीलाई भन्न भनेका छौं,’ उनले भने।

रञ्जनाले आफ्नो भविष्य लागि अरू बालबालिकालाई पनि प्रेरणा दिएको भन्दै प्राचार्य लम्सालले उनलाई विद्यालयभित्र मात्र नभई बाहिर पनि साथ दिन विद्यालय परिवार तयार रहेको बताए।

यो घटनापश्चात हरिनास गाउँपालिकाले पनि सचेतना अभियान चलाउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार गाउँपालिकाको बुधबार बसेको बैठकले सबै वडामा सचेतना अभियान चलाउने निर्णय गरेको बताए।

‘बालविवाह र बहुविवाहका बारेमा वडा वडामा र स्कुले विद्यार्थी माझ सचेतना कार्यक्रम गर्ने निर्णय गरका छौं,’ अध्यक्ष मानन्धरले भने, ‘यो घटनाको पनि कानुनी उपचार नै हुन्छ, यसको विकल्प छैन।’

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक