बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् ।
सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका ती बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।