२०८० असोज, १७
||NEWS LUMBINI |

१९४ मत सदरमुकाम ल्याउन लाखौं खर्च !

रविन भट्टराई (इमेज): ताप्लेजुङ, मंसिर ११ । ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको अतिदुर्गम चार मतदान केन्द्रका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम फुङ्लिङ ल्याइएको छ ।

 

फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला, याङ्मा, घुन्सा र ओलाङ्चुङगोलाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरले ल्याएको हो ।

चारै स्थानको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिएपनि ओलाङ्चुङगोला र घुन्सामा मौसम बदली भएका कारण हेलिकोप्टर बस्न नसक्दा दुईपटकमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए ।

आइतबार भएको मतदानमा ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो ।

यस्तै, १३१ मतदाता रहेको घुन्सामा ५९ र २२२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो ।

चारै केन्द्रमा गरी जम्मा ४५९ मतदाता रहेकोमा १९४ मात्रै मत खसेको थियो ।

गाडी नजाने र हिँडेर आउन कम्तीमा चार दिन लाग्ने भएकाले खसेको १९४ मत सदरमुकाम ल्याउन लाखौं खर्चिएर सरकारले हेलिकोप्टरको प्रयोग गर्नुपरेको हो ।

यता, ११४ केन्द्रमध्ये चार केन्द्रकोबाहेक ११० केन्द्रको मतपेटिका भने स्थलमार्गबाट सदरमुकाम आइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

ती सबै मतपेटिका सोमबार रातिसम्ममा सदरमुकाम आइपुग्ने र राजनीतिक दलको रोहबरमा मतपेटिका राखिएको चारओटा कोठालाई सिलबन्दी गरिने अधिकृत कार्कीको भनाइ छ ।

सिलबन्दीपछि मतपेटिकाको सुरक्षामा पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाल प्रहरी राखिने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए ।

Facebook Comments Box

फेसबुक