पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीको खानेपानी समस्या समाधानका लागि बृहत् खानेपानी आयोजना शुरू गरिने भएको छ । नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयको रू. २४ करोड लागतमा आगामी पुस महीनाबाटै ‘शङ्करपोखरी खानेपानी आयोजना’को काम अघि बढाउन लागिएको हो ।
उक्त आयोजना सम्पन्न भएपछि शङ्करपोखरीका सबै ७ सय घरधुरीमा खानेपानीको सहज पहुँच पुग्ने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले बताए । उक्त आयोजनाको काम शुरू गर्न अन्तिम तयारी भइरहेको जानकारी उनले दिए ।
गत जेठमा सर्भेको काम सकिएको उक्त आयोजनाले टेण्डर आह्वानको प्रक्रिया थालेको छ । ‘आयोजनाको लागत इस्टिमेट तयार गर्ने काम सकिएको छ,’ डोटेलले भने, ‘टेण्डरको काम पूरा हुनेबित्तिकै निर्माण शुरू हुनेछ ।’ सो आयोजना २ वर्षभित्र सक्ने लक्ष्य लिइएको उनले बताए । डोटेलका अनुसार स्थानीय पाँचओटा मूलबाट लिफ्ट सिष्टमबाट पानी तान्ने प्रविधि जडान गरिनेछ । आयोजनामा १ हजारदेखि ५ हजार लिटरसम्मका पाँचओटा ट्याङ्की निर्माण हुनेछन् । हाल सञ्चालनमा रहेको आयोजनाको मर्मत–सुधार गर्ने र नयाँ योजनासमेत रहेकाले सबै काम सम्पन्न गर्न सरकारले २४ करोड बजेट विनियोजन गर्ने जानकारी उनले दिए ।
शङ्करपोखरी जिल्लाकै सबैभन्दा बढी खानेपानीको समस्या भएको वडा हो । १७ वर्षअघि निर्माण गरिएको डहरे देउराली खानेपानी आयोजनाले माग थेग्न नसकेपछि यहाँ लामो समयदेखि पानीको समस्या छ । २०५६ सालमा निर्मित ‘डहरे खानेपानी आयोजना’ सञ्चालन भए पनि अहिले उक्त आयोजना अलपत्र छ । हाल यो गाउँमा खानेपानी बोकेर ल्याउन डेढदेखि २ घण्टासम्म समय लाग्ने स्थानीय गोविन्द तिवारीले बताए । ‘नजीकमा भएको पानीको स्रोत भनेको राहालेपानीको कुवा हो,’ स्थानीय रमेश क्षत्रीले भने, ‘पालो कुरेर एक गाग्री पानी ल्याउन २ घण्टा लाग्छ ।’ पानी अभावकै कारण यहाँका कतिपय छात्रछात्रा समयमै विद्यालय पुग्न सक्दैनन् ।
हालको खानेपानी समस्या नयाँ बन्ने आयोजनाले समाधान गर्ने वडाध्यक्ष अर्जुनबहादुर केसीले बताए । खानेपानीको अभावका कारण गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । नयाँ बन्ने आयोजनाले ‘एक घर, एक धारा’ अवधारणाअनुसार पानी वितरण गर्ने बताइएको छ ।