२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

४ सय ४१ केन्द्रीय समिति र ४३ जनाको स्थायी समिति बन्ने

एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषय पास गरेको छ। भोलि नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुने बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई बताए।

बिहिबार हुने केन्द्रीय समिति बैठकको पूर्व तयारी र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो। बैठकले पार्टी एकताको विषयलाई पास गरेको हो।

स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको वान टु वान बैठकको ब्रिफीङ गरेका थिए।

बैठकमा सहभागी ति नेताका अनुसार अध्यक्ष ओलीले एकीकृत पार्टीमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए।

‘केन्द्रीय समितिमा २ सय ४१ जना एमाले र २ सय जना माओवादीका सदस्य रहने दुई नेताबीच समझदारी भएको कुरा पनि अध्यक्षज्यूले ‘ब्रिफिङ’ गर्नु भयो,’ ति नेताले भने।

एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ। दुई अध्यक्षले अहिले पोलिटब्यूरो नबनाउने निर्णयसमेत गरेका थिए।

वान टु वान बैठकले महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी गरेको थियो। उनीहरुबीचका समझदारीलाई स्थायी समितिले पास गरेको ति नेताले बताए।

बिहान अध्यक्षहरुको बैठकपछि एमालेले स्थायी समिति बैठक बोलाएको थियो। सम्भवत यो एमालेको अन्तिम स्थायी समिति बैठक हुने छ। भोलि एमाले माओवादी एकता संयोजन समितिको बैठक बस्ने छ।

उक्त बैठक पछि दुई अध्यक्षबीच भएको समझदारी लिखित रूपमा पनि सार्वजनिक हुने ति नेताले बताए। संयोजन समितिको बैठक अघि भने दुवै नेताले बल्खुस्थित स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने छन्। भोलि मदन भण्डारीको स्मृति दिवस हो।

पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी छ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक