२०८० असोज, १७
||NEWS LUMBINI |

७ वर्षीय बालक सिक्रीमा बाधिएर दैनिकी गुजार्दै

स्थानीय सरकार कहाँ छ, पत्तो छैन
यज्ञमूर्ति तिमिल्सिना -पाल्पा, आफु जन्म दिएको बच्चालाई गाई बाख्रालाई जस्तै सिक्रीले बाँधेर राख्न मन कुन आमालाई होला र ? तर यहाँ एउटी आमाको दैनिकी आफैले जन्म दिएको छोरालाई सिक्रीले बाँधेर घरमा राख्ने र आफू वरपर जादा उसलाई सिक्रीले बाधेरै डोर्याउँदै लैजाने गर्दैमा बितेको छ । उनी आफ्नै सन्ततीलाई सिक्रीले बाधेर राख्न बाध्य भएकी छन् ।

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा जोगीथुमका ७ वर्षीय बालक शिव कुमाल जन्मेर जान्ने बुझ्ने भएदेखि नै सिक्रीमा बाधिएका छन् । आफ्नो उमेरका साथीहरु बिद्यालय जादा उनले सिक्रीमै जेलिएर घरकै पिढिमा बसेर दिन बिताउँछन् । न त उनलाई संगी साथीसित खेल्न छ न त बिद्यालय गएर पढ्न ।

छोरा जन्मेर हिड्ने डुल्ने भएदेखि नै यसरी बाधेर राखिएको शिवकी आमा पार्वती कुमालले बताइन् । ‘घर वरपर धेरै चक चक गर्ने, बिठ्याई गर्ने, उत्तिखेरै भागेर टाढा टाढासम्म जाने गर्छ त्यही भएर यसरी बाधेर राखिएको हो ।’ आमा पार्वतीले भावुक हुँदै भनिन्, गरिवका लागि उपचार खर्च जुटाउन समेत समस्या रहेछ ।

शिव बोल्न सक्दैनन् तर आफन्तहरुलाई भने चिन्न र पहिचान गर्न सक्छन् । घर नजिकै कालिका आधारभुत विद्यालय पनि छ तर उनी बिद्यालय जादैनन् । विद्यालयमा कुनै कार्यक्रम भएका बेला उनकी आमा पार्वतीले सिक्रीले डोर्याउँदै लैजान्छिन् र कक्षाकोठाभित्रै बाधेर राख्छिन् ।
उनको उपचारका लागि तानसेनको लुम्विनी मेडिकल कलेज र मिसन अस्पतालमा लगेपनि कुनै सुधार नभएको तर आफूसित आर्थिक अभाव भएका कारण अन्यत्र राम्रो अस्पतालमा लैजान नसकिएको शिवकी आमा पार्वतीले बताइन् । ‘सबैले राम्रो अस्पतालमा लैजान सके सञ्चो हुन्छ भन्नुभएको छ तर यसको उपचारका लागि मसँग पैसा छैन ।’ उनले भनिन् ।

पार्वती अर्का २ वटा छोरा पनि छन् । उनीहरु मध्ये एउटाले कक्षा ५ र अर्कोले शिशु कक्षामा पढ्छन् । शिव पार्वतीका माइला सन्तान हुन् । स्थानीय कालिका आधारभुत बिद्यालयका शिक्षक सुरेश कुमालले शिव १, २ दिन स्कुल आएपनि उनका कारण अरु साथीहरुलाई पनि डिस्टर्व गरेकोले पछि अभिभावकले ल्याउन छोडेको बताए । नियमित सिक्रीमा बाधेर राख्ने गरिएकोले उनको मानसिकता नै त्यस्तै भएको र सामान्य उपचार गराउन सके उनलाई केही सुधार हुन सक्छ भने प्रअ कुमालले भने ।

रिब्दीकोट गाउँपालिकाले यहाँका कुमाल समुदायका बालबालिकालाई लक्षित गरि अहिले दिवाखाजा सहित ब्यवस्थापन मिलाएको छ । यहाँ यो एक महिनाको बिचमा जिल्लाका बिशिष्ट ब्यक्तिहरु पनि पुगिसकेका छन् तर शिवको समस्या बुझ्ने र उनको उपचारका लागि कतैबाट पनि पहल भएको छैन ।

-पाल्पा समाचार बाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक