चलचित्रमा उठाइएको विषय विवादित बनेपछि चलचित्रको रिलिज मिति अनिश्चित बनेको छ । त्यति मात्रै होइन, दिनदिनै भारतका विभिन्न राज्यमा चलचित्रको विरोध भैरहेको छ ।
शुक्रबार राजस्थानमा चलचित्रको विरोध भैरहेको स्थानमा एक जना व्यक्तिको शव भेटिएको छ । राजस्थानको राजधानी जयपुरको नाहरगढ किल्ला नजिकै एउटा शव झुण्डेको अवस्थामा फेला परेको हो । शवसँगै किल्लाको पर्खालमा लेखिएको छ, ‘पद्मावतीको विरोधः हामी पुतला जलाउँदैनौँ, झुण्ड्याइदिन्छौँ ।’
प्रहरीले यो घटना आत्महत्या वा हत्या हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताएको छ । डिसेम्बर १ मा रिलिज गर्ने तयारी भएको यस चलचित्रलाई प्राविधिक कारण देखाउँदै भारतीय सेन्सर बोर्डले अनुमति दिएको थिएन । चलचित्र ‘पद्मावती’ लाई मध्यप्रदेश, राजस्थान र गुजरातका मुख्यमन्त्रीले रिलज हुनुपूर्व नै आ–आफ्ना राज्यमा प्रतिबन्ध लगाएका छन् ।
चलचित्रले रानी पद्मावतीको अपमान गरेको भन्दै हिन्दुवादी समूहले लगातार विरोध प्रदर्शन गरिरहेको छ । शुक्रबारको घटना चलचित्रको समर्थन वा विरोधमा हो भन्ने कुरा नखुलेको प्रहरीले बताएको छ । चलचित्रमा दीपिका पादुकोण र रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् ।