२०८१ बैशाख, ३
||NEWS LUMBINI |

ओलीलाई स्वागत गर्न दिल्लीको हतारो

तोडिएन भारत भ्रमणको परम्परा

वाम गठबन्धनबाट शक्तिशाली प्रधानमन्त्रीका बनेका प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न हतारोमा रहेको दिल्लीले आगामी अप्रिल पहिलो साताका लागि यो अवसर जुराएको छ ।

सबै कुरा सामान्य रहेमा नेपालका प्रधानमन्त्री ओलीलाई भारतले अप्रिल पहिलो साता दिल्लीमा स्वागत गर्ने तय भएको छ । यद्यपि भ्रमणको औपचारिक मितिको घोषणा दुवै मुलुकका विदेश मन्त्रालयले केही समयभित्र गर्नेछन् । ओलीलाई पहिले भारत ल्याउने कसरतमा लागि परेका नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी बुधबार दिल्ली आएपछि यो भ्रमण तय भएको हो । यो सँगै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुने परम्परालाई ओलीले पनि निरन्तरता दिने भएका छन् ।

मोदीलाई ल्याउने प्रयास असफल

ओली भारत आउनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गराउने नेपाली कुटनीतिक प्रयास सफल हुन सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०१४ मा दुई पटक तथा तात्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको २०१६ नोभेम्बरमा भएको नेपाल भ्रमणपछि भारतको तर्फबाट उच्च राजनीतिक भ्रमण भएको छैन ।

त्यसैले नेपाली पक्षले सकेसम्म मोदीलाई नै नेपाल भ्रमण गराउने प्रयास गरेको थियो । भारतीय पक्ष ओलीलाई पहिले भारत ल्याउने अडानमा थियो । चीनका राष्ट्रपति सी जिनपिङ्गले गर्ने भनिएको नेपाल भ्रमणअघि ओलीको भारत भ्रमण गराउने भारतको प्रयास सफलतातर्फ उन्मुख भएको छ ।

चीनलाई मनाएर भारततर्फ

ओलीले पहिलो विदेश भ्रमणको रुपमा भारतलाई नै रोज्नुको पछाडि दुई तीनवटा कारण अनुमान गर्छन् भारतीय विश्लेषक निहार नायक । भारतीय विदेश मन्त्रालय अन्तर्गतको रक्षा तथा अनुसन्धान केन्द्रका रिसर्च फेलो नायक भन्छन, ‘पहिलो कुरा चीनसँगको सम्बन्धमा सहज रहेका ओलीले भारत भ्रमणले चीनसँगको सम्बन्धमा कुनै फरक नपर्ने भनेर चीनलाई विश्वस्त गराएका हुन सक्छन् । दोश्रो, चीन पनि ‘नेपाल कार्ड’ को प्रयोग गरेर त्रिपक्षीय सहकार्य बिस्तार गर्न चाहन्छ । किनकी नेपाल भारत सम्बन्ध असहज भएको अवस्थामा चीनले भारतीय बजारमा पहुँच स्थापित गर्न सक्दैन । त्यसैले ओबीओर (वान बेल्ट वान रोड) जस्ता महत्वकांक्षी परियोजना त्रिपक्षीयरुपमा अघि बढाउन चीनलाई नेपालको सहयोग अत्यावश्यक छ । यही कुरालाई आधार बनाएर ओलीले चीनलाई विश्वस्त पारेको हुनसक्छ ।’ निहार अगाडि भन्छन, ‘यो भ्रमणमा ओलीले त्रिपक्षीय सहकार्यको कुरा उठाउन सक्छन्, अनि हिमालय क्षेत्रबीचको सहकार्यमा सुधारका लागि भूमिका निर्वाह गर्न सक्ने कुरा पनि राख्न सक्छन् ।

निहारका अनुसार तेश्रो कारण भनेको भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री हुनुअघि नै फोन संवादमा ओलीलाई भारत आउन आमन्त्रित गरिसकेका छन् । त्यसपछि विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणमा पनि ओलीलाई भारत भ्रमणका लागि आश्वस्त पार्न अह्राएका थिए ।

सम्बन्ध सुधार्ने प्रयास

भारत र शक्तिशाली वाम गठबन्धन नेतृत्वका प्रधानमन्त्री ओलीबीचको सम्बन्ध सुधारको बाधा अड्को फुकाउनका लागि दुवै पक्षले कसरत गरिरहेको समयमा ओलीले पहिले भारत भ्रमण गर्ने लगभग तय भएको छ । यसलाई चीनसँगको सम्बन्धलाई देखाएर भारतसँगको सम्बन्ध सुधारको ओली रणनीति तथा ओलीको पहिलो भ्रमण भारत गराएर नेपाल भारत सम्बन्ध सामान्य रहेको आन्तरिक र अन्तराष्ट्रिय जगतलाई सन्देश दिने भारतको रणनीति अनुरुप यो आसन्न भ्रमण तय भएको बुझाइ एकथरीको छ ।

ओलीले यस अघि २०१६ फेबु्रअरीमा पाँच दिने भारत भ्रमण गरेका थिए । भारतीय नाकाबन्दीको चर्को विरोध गरेका ओलीको सो भ्रमणका समयमा दुई मुलुकको संयुक्त प्रेस विज्ञप्ति निकालिएको थिएन् ।
अन्नपूर्णपोष्टबाट

Facebook Comments Box

फेसबुक