मंसिर १६, २०७४ दमक (झापा) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको संघ र प्रदेशको निर्वाचनमा परिणाम आफ्नो पक्षमा ल्याउन नयाँ अस्त्रको प्रयोग गरेका छन्। चुनावी अस्त्र बनेको उनीद्वारा हस्ताक्षरित हवाई पत्र अहिले झापाको अघिकांशको घरमा पुगेको छ। यसलाई एमाले कार्यकर्ताहरुले महत्वका साथ मतदाताका हात हातमा पुर्याइरहेका छन्। कार्यकर्ताहरुले यसलाई मंसिर २१ मा भोट हाल्न आउने केपी ओलीको निम्तो पत्रको रुपमा वितरण गरिरहेका छन्। परम्परागत ढंगबाट हवाई पत्र आदन प्रदान हुँदाको ढाँचामा ओलीको पत्र तयार पारिएको छ। हुलाक टिकटको स्थानमा एमाले नेता मदन भण्डारीको तस्विर सहितको हुलाक टिकट छ। पट्याउने ढाँचा पनि हवाई पत्रझैं बनाइएको छ।
मतदाताको प्रतिक्रिया ओलीको हवाई पत्रलाई मतदाताले आश्चर्य भन्दा पनि रोचक रुपमा लिएका छन्। दमक–४ का नेत्र कार्की ओलीले पत्र मार्फत मतदातालाई आफ्नो कुरा सरल भाषामा भनेको बताउँछन्। अन्य प्रचारका रुप भन्दा यो नौलो रहेको उनले बताए। कम्तीमा साक्षर व्यक्तिहरुलाई पत्र मार्फत बाम गठबन्धनको आवश्यकता र औचित्य बुझाउने प्रयास भइरहेको भन्दै उनले तर यो नै पर्याप्त नभएको बताए। अझै पनि धेरै मतदाताको अपेक्षा ओलीले आफ्नै ठाउँमा आफै आएर भोट मागिदिउन् भन्ने रहेको उनले बताए। यस्तै कमल गाउँपालिका–६ का खेम आचार्य ओलीको हवाई पत्रले पुरानो चलनको चिठी पत्रको याद दिलाएको बताउँछन्। भाषा पनि आफै लेखेको जस्तो भएकाले यस मार्फत ओलीका धारणा बुझ्ने मौका पाएको उनले बताए।
के भन्छन् कार्यकर्ता?
एमाले कार्यकर्ताहरु ओलीको हवाई पत्रलाई महत्वका साथ मतदाताका घर घरमा पुर्याइरहेको बताउँछन्। साविक क्षेत्र नं. ७ का एमाले ईन्चार्ज होमबहादुर थापाले पत्रलाई सबै मतदाताको घरमा अध्यक्षको निम्तो र सन्देशको रुपमा पुर्याइरहेको बताए। एमालेका पुराना मतदाता मात्र नभई गठबन्धनका अन्य दलका कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरुले पनि महत्वका साथ हवाई पत्रलाई लिएको उनले बताए। यस्तै गठबन्धनमानै रहेको नेकपा माओवादी केन्द्रका शंकर बस्नेत हवाई पत्रमार्फत वाम गठबन्धनको आवश्यकता र औचित्य बुझाउने प्रयास गरिएको बताउँछन्। पत्र सचेत मतदाताहरुका लागि उपयोगी र प्रभावकारी पनि देखिएको उनको धारणा छ।
के छ पत्रमा?
हवाई पत्रको शुरुवात नेपाली चलनको चिठी लेखाई श्री बाट शुरु भएको छ, अनि मिति उल्लेख छ : २०७४/०७/ २५। अनि पत्र लेखन शुरु भएको छ, आदरणीय दाजु भाइ, दिदी बहिनीहरु नमस्कार। आराम रही आरामको कामना गर्दछु।
यसरी शुरु भएको पत्रमा उनले देशको पछिल्लो राजनीतिक अवस्था, संघ र प्रदेश सभाको निर्वाचनको पृष्ठभूमि दर्शाएका छन्। संविधान निर्माणको कठिनाई र चुनौती समेत दर्शाउँदै उनले वाम गठबन्धनको औचित्य पनि पुष्टि गर्न खोजेका छन्। दुइ तिहाई बढी मतदाता भए पनि वामपन्थीले सरकार बनाउन नपाएको भन्दै ५ वर्षे स्थिर सरकार गठन गर्ने भन्दै यसले वामपन्थी बिरुद्धका सबै भ्रमहरु हटाउने समेत जनाएका छन्।
कुनै पनि चुनाव चिह्न उल्लेख नगरी वामपन्थीलाई भोट दिन उनले आग्रह गरेका छन्। अन्त्यमा, उनले भनेका छन् ‘यहाँहरुलाई सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको दिगो विकासका लागि बाम गठबन्धनको महाशक्तिलाई मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस्। यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु। बाँकी कुरा भेटमा गरौंला। धन्यवाद। उही तपाईको केपी शर्मा ओली। अनि ‘प्रिन्टेड’ हस्ताक्षर हवाई पत्रमा छ।
कसरी आयो अवधारणा?
नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई परम्परागत शैलीको हवाई पत्र मार्फत मतदाता बीचमा जाँदा उपयोगी ठानेर नै यो अभ्यास गरिएको बताउँछन्। पहिलो चरणमा मंसिर १० मा भएको निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका भट्टराईले आफूले पनि हवाई पत्रमार्फत मतदाताहरुलाई समसामयिक राजनीति र आगामी कार्यदिशाबारे बुझाएको बताए।
‘पार्टीका साथीहरु बीचबाट नै यो अवधारणा आएको हो तर प्रकाशनमा ढिलाई भएकाले पहिलो चरणमा बेलैदेखि वितरण गर्न सकिएन’ भट्टराईले भने ‘दोस्रो चरणमा देशैभरीका मतदातालाई पुग्ने गरी हवाई पत्र तयार पारिएको छ। कम्तीमा प्रत्येक घरमा हवाई पत्र पुगोस् भन्ने हाम्रो चाहना हो।’
Facebook Comments Box